माधव नेपालका कारण रोकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

जागृति खबर संवाददाता

काठमाडौँ, १९ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका कारण सोमवार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक रोकिएको छ । माधव नेपालले आफुहरु सरकारमा सहभागी नहुने स्पष्ट कुरा प्रचण्डलाई भनेका छन् । आइतवार कोटेश्वरमा सरकारमा सहभागी हुनका लागि आग्रह गर्न प्रचण्ड नेपाल निवास पुगेका थिए ।

तर नेपालले एमाले भित्रको विवाद समाधान उन्मुख भएकाले आफुहरु सरकारमा सहभागी नहुने बताए । नेपालकै कारण आज दिउँसो बस्ने भनिएको नेकपा माओवादी केन्द्रको बैठक स्थगन गरिएको छ।

यसअघि माओवादी केन्द्रले आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा स्थायी कमिटी बैठक राख्ने तय गरेको थियो। नेपाल समुहले सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएपछि अब फेरी मन्त्रीको भागवण्डा नयाँ तरिकाले मिलाउनुपर्ने भएकाले प्रचण्ड ब्यस्त हुनेछन् । प्रचण्ड ब्यस्त भएका कारण बैठक रोकिएको हो ।

‘अध्यक्षज्यू, मन्त्रालय बाँडफाँडबारे छलफलमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगन गरिएको हो,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिँदै भने, ‘आज अध्यक्षज्यूले प्रधानमन्त्री देउवा, उपेन्द्र यादवजीहरूसँग भेटवार्ता गर्नुहुन्छ होला।’

देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल पक्षलाई सरकारमा सहभागी गराउने देउवा र प्रचण्डको चाहना थियो । त्यसैले नेपाल पक्षका लागि ६ मन्त्रालय भाग लगाएर अन्य मन्त्रालयहरुमा गठबन्धन दलले भाग मिलाएका थिए । तर नेपाल पक्ष सरकारमा सहभागी नहुने भएपछि मन्त्रालय भागवण्डा फेरी मिलाउनुपर्ने भएको छ ।