माधव नेपालमाथि देशद्रोहीको आरोप, पार्टीमा कुनै ठाउँ नभएको अध्यक्ष ओलीको घोषणा

जागृति खबर संवाददाता

काठमाडौँ, १६ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोही भएको गम्भीर आरोप लगाउँदै पार्टीमा कुनै ठाउँ नभएको बताउनु भएको छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेको र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै वरिष्ठ नेता नेपालमाथि आक्रोश पोख्नुभयो ।

अब नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको अध्यक्ष ओलीले घोषणा गर्नुभयो । अध्यक्ष ओलीले नेता नेपालले वामपन्थी नेतृत्वको आफ्नै सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई विश्वास छ भनेर ह्वीप उल्लंघन गर्ने जस्ता काम गरेको आरोप लगाउनुभयो ।

नेता नेपालका कारण सुशासन र अग्रनमनको सपनामा धक्का लागेको उहाँको दाबी छ । नेपालबाहेकका अन्य नेतालाई भने पार्टीमा ठाउँ खुला रहेको ओलीले दोहोर्‍याउनुभयो ।

आगामी चुनावमा पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिने पनि उहाँले घोषणा गर्नुभयो ।