खोप नलगाएकालाई कतारमा प्रवेश निषेध

जागृति खबर संवाददाता

कतार, १६ साउन ।

नेपालबाट वैदेशिक रोजगारीमा कतार आउनेहरुलाई अनिवार्यरुपमा होटेल क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता उत्पन्न भएको छ । कतारले नयाँ ट्राभल एड्भाइजरी जारी गर्दै अगस्ट दुई अर्थात आगामी १९ गतेदेखि उक्त व्यवस्था लागू हुने जनाएको छ । यहा‘स्थित नेपाली दूतावासले यसबारे थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर बुझ्न सकिने जनाएको छ ।

जुलाई १२ देखि कोरोना खोप लगाएकालाई क्वरेन्टिन बस्नु नपर्ने नियम लगाएको कतारले पछिल्लो समय आफ्नो मुलुकमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कडाइ गरेको बताइएको छ । नेपाली दूतावासले कतारमा खोपको दुवै डोज लगाएका वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरुलाई भने २ दिन मात्र होटल क्वरेन्टिन बस्नुपर्ने जनाएको छ । होटल बसेको दोस्रो दिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए आफ्नो गन्तव्यमा जान पाइने बताइएको छ ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्यूआईडीवाहक यात्रुहरूले १० दिन होटेल क्वरेन्टिन बस्नुपर्ने हुन्छ । खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेस भिसा अन्तर्गतका) यात्रुहरूलाई भने कतारमा प्रवेश गर्न दिइने छैन ।