बेपत्ता सांसद बिमला वली फेला परिन, एमालेले कब्जामा लिएको माओवादीको आरोप

जागृति खबर संवाददाता

रूपन्देही , १६ साउन ।

राजनीतिक अ’पहर’णमा परेको भन्दै समाचार सार्वजनिक भएकी लुम्बिनी प्रदेश सभा सदस्य बिमला कुमारी खत्री (वली) उपचारमा रहेको खुलेको छ ।
प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले प्रदेशसभा सदस्य वली उपचारमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको बताए । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेको थियो।

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले वलीसँग सम्पर्क नभए पनि परिवारसँगको सम्पर्कबाट उनी बिरामी रहेको र उपचारमा रहेको जानकारी पाएको बताए। ‘उहाँसग हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन, तर पारिवारिक स्रोतबाट बिरामी रहेको र उपचारमा रहनुभएको छ भन्ने जानकारी पाएका छौं,` घर्तीमगरले भने।

घर्तीमगरका अनुसार बिहीबार साझसम्म सम्पर्कमा रहेकी वलीले शुक्रबार बिहानदेखि फोन उठाएकी छैनन्। शुक्रबार दिउँसोदेखि नै वली सम्पर्क बिहिन रहेको समाचार बाहिर आउन थालेपछि उनी बिरामी रहेको पारिवारिक स्रोतबाट जानकारी पाएको घर्तीले बताए।

दाङको क्षेत्र नं ३ (ख) बाट एमालेबाट निर्वाचित उनका पति उत्तरकुमार वलीको मृत्यु भएपछि सोही स्थानमा तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमार्फत प्रदेशसभा सदस्यमा पठाएको थियो । तत्कालीन नेकपाबाट निर्वाचित उनीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन् ।

उनले पाटी विभाजनपछि भने माओवादी केन्द्र रोजेको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ भने एमालेले उनी सूर्य चिन्हबाट लडेको र पार्टी विभाजनपछि पनि एमाले दाङको जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो ।

यसअघि वैसाख ६ गते बिमला वलीलाई अ’पह’रण गरेर माओवादी केन्द्रले लगेको आरोप नेकपा एमालेले लगाउदै आएको थियो भने यसपटक माओवादी केन्द्रले एमालेले सत्ता बचाउन सांसदहरूलाई लुकाउने प्रपन्च रचेको आरोप लगाउँदै आएको छ ।