गगन थापा स्वास्थ्यमन्त्रीमा नियुक्त

जागृति खबर संवाददाता

काठमाडौं, १५ साउन ।

सत्तारुढ गठबन्धनका नेताहरुको छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएसंगै बिहीबार नयाँ बानेश्वर आसपासमा गठबन्धनका नेताहरुबीच गोप्य वार्ता भइरहेको स्रोतले बताएको हो ।

पावर सेयरिङ मिलाउनका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भइरहेको छ ।

पावर सेयरिङमा नेताहरुबीच सहमति भए आजै मन्त्रिपरिषद विस्तार हुने स्रोतको भनाइ छ । काँग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा दाबी गरेको छ भने माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ ।

एमालेका वरिष्ठ नेता माधव नेपाल समुह पनि सरकारमा सहभागी हुने भएकालो काँग्रेस, माओवादी र जसपाबीच पावर सेयरिङमा कुरा मिल्न सकेको छैन । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै देखिएपछि नेताहरु गोप्य रुपमा बैठक बसेर मन्त्रालय र मन्त्रीको टुंगो लगाउन जुटेको बुझिएको छ ।

काँग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् । यस्तै पौडेल पक्षबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।

यता माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, लगायतले लबिङ गरिरहेका छन् ।

यता जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक पनि आजै बस्दैछ । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ ।

जसपाले सरकारमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ६ मन्त्रालय दिए आज नै सरकारमा सहभागी हुने नेता मोहम्मद इस्तियाक राईले बताए । यस्तै जसपाले जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी बनाउने निर्णय गरेको छ ।

उक्त पार्टीको हिजो बसेको बैठकले निर्वाचन आयोगमा सनाखतका बेला तटस्थ बसेका चौधरीलाई पनि समेटेर अघि बढ्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार सिटौला समूहलाई रक्षामन्त्रालय छलफल भएको छ। सिटौला समूहलाई जम्मा स्वास्थ्यमन्त्री दिएर मन बुझाउने तयारी भएको स्रोतले बतायो। सिटौला समूहवाट गगन थापा स्वास्थ्यमन्त्री बन्ने पक्का भएको छ।