नेपाललाई पेल्दापेल्दै कुर्सी धरापमा परेपछि ओली निहुरिन बाध्य

जागृति खबर संवाददाता

काठमाडौँ, २४ असार ।

विपक्षी गठबन्धनमा लागेर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै एमाले अध्यक्ष केपी ओली निकै आक्रोशित छन् ।

ओलीले नेपाललाई पार्टीबाट समेत निकालेका थिए । तर, सर्वोच्च अदालतले ओलीले बनाएको दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेपछि ओली अहिले एमालेलाई नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई मान्यता दिन बाध्य भएका छन् ।

नेकपामा हुँदा सुरु भएको विवादका कारण नेपाललाई पेल्दापेल्दै आफ्नै कुर्सी धरापमा परेपछि ओली निहुरिएर माधव नेपालसँग वार्ता गर्नुपर्ने अवस्थामा आइपुगेका छन् । केही दिन अगाडि ओलीले नेता नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भनेर आरोप लगाएका थिए । नेता नेपालकै कारण आफ्नो कुर्सी दाउमा लागेपछि ओली नेपालसँग क्रुद्ध बनेका हुन् । कतिसम्म भने ओलीले ‘माधव नेपाललाई केपी ओलीले प्रधानमन्त्रीमा प्रस्ताव गर्न के मलाई बहुलाहा कुकुरले टोकेको छ र’ भनेका थिए ।

तर, अहिले आफूले प्रचण्डको मामुली कार्यकर्ता भनेको माधव नेपाललाई भेट्न पाँच तारे होटेल मेरियट पुगे । बुधबार राति दुई घन्टासम्म ओलीले नेपालसँग वन टु वनका साथै पार्टीका दोस्रो तहका नेताहरूसँग वार्ता गरेका थिए ।

ओलीको वार्ता रणनीतिबारे विभिन्न ढंगले व्याख्या हुन थालेको छ । आजै ओली र नेपालबीच संयुक्त वक्तव्य जारी गर्ने रणनीतिमा ओली पक्ष लागेको छ । ओली असार २८ गते अगाडि जसरी पनि माधव पक्षका सांसदको हस्ताक्षर फिर्ता गराउन चाहन्छन् ।

यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिइ हालेमा पनि आफ्नो पार्टीका सांसद इन्ट्याक्ट राख्ने ओलीको चाहना छ । एमालेसँग १२१ सांसद छन् ।जसपाको महन्थ ठाकुर पक्षसँग १८ सांसद हुँदा ओलीले फेरि पनि विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिएकाले पनि ओली पक्ष अहिले माधव नेपाललाई गलाउने रणनीतिमा लागेको छ ।