मलेसिया रोजगारी : आगामी डिसेम्बरसम्म नेपालीका लागि ढोका बन्द !

जागृति खबर संवाददाता

काठमाडौँ, २३ असार ।

नेपालीहरुको लागि मलेसिया रोजगारी आगामी डिसेम्बरसम्म नै बन्द हुने देखिएको छ । मलेसियामा कोभिड-१९ संक्रमण दर उच्च रुपमा फैलिरहेका कारण आगामी डिसेम्बरसम्म नै नेपालीको लागि मलेसिया रोजगारी बन्द हुने देखिएको मलेसियाका लागि श्रम काउन्शिलर दिपक ढकालले बताए ।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘प्रमुख श्रम गन्तव्य मुलुकहरुले नेपाली कामदार लिने गरेका नयाँ व्यवस्था विषयक’ वेविनार कार्यक्रममा बोल्दै काउन्सिलर ढकालले भने ‘मलेसियामा कोरोना संक्रमण बढ्दै गएको छ, हाल दैनिक ४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् यस्तो अवस्था जारी रहेमा आगामी डिसेम्बरसम्म नै मलेसियाले नेपाली कामदार लिने अवस्था रहँदैन ।’

कोरोना संक्रमण दर नियन्त्रणमा नआएको अवस्थामा मलेसिया सरकारले विदेशी कामदार लिने बारे खासै चासो नदेखाएको ढकालले बताए । गत वर्ष मार्चबाट नै आजसम्म लकडाउनकै अवस्था नै रहेकोले त्यसले प्रभाव पारेको उनले बताए । मलेसियामा रहेका कति नेपाली कोरोना संक्रमित भए भनेर मलेसियाले देशगत आकडा नदिने नीति लिएको छ, आजसम्म मलेसियामा रहेका २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् उनले भने ‘कोरोना खोपलाई मलेसियाले प्राथमिकतामा राखेपनि अपेक्षित रुपमा सबैले खोप प्राप्त गर्न सकेका छैनन् ।’

आगामी दिनमा मलेसिया र नेपालमा कोरना संक्रमण दरको अवस्था के हुन्छ ? त्यसले पनि मलेसियामा नेपालीको लागि नयाँ रोजगारी खुला हुने कि नहुने भन्ने असर गर्छ तरपनि मलेसियामा नेपाली कामदारको लागि माग उच्च रहेको उनको भनाई छ । साना ठुला रोजगारदाता दुतावासमै पुगेर नेपाली श्रमिक कहिलेबाट लिन सकिन्छ भन्दै जिज्ञासा राख्ने गरेको उनले बताए । यद्यपी मलेसियाले नेपाली सहित विदेशी श्रमिक लिन बन्देज लगाएपनि नेपालले मलेसियामा जान बन्देज लगाएको छैन ।