लाइसेन्स आवेदन खुलाउन यातायात विभागले थाल्यो छलफल, संक्रमण नबढे खुलाउने तयारी

जागृति खबर संवाददाता

काठमाडौँ, २२ असार ।

कोरोना भाइरसको दोस्रो लहरका कारण बैशाख दोस्रो सातादेखि बन्द भएको सवारी अनुमति पत्र आवेदन (लाइसेन्स) तथा ट्रायल परीक्षा खुलाउन यातायात क्षेत्रको नियामक निकाय यातायात व्यवस्था विभाग अन्तरिक छलफलमा जुटेको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी खुल्ला भएको तथा परीक्षाहरु पनि हुने तयारी भएको अवस्थामा लामो समयदेखि पुर्णरुपमा सञ्चालन हुन नसकेको लाइसेन्स प्रयोगात्मक परीक्षा सञ्चालन गर्न विभाग लागी परेको हो ।

गत बर्ष पनि कोरोना भाइरस संक्रमणको पहिलो लहरकै कारण झन्डै १० महिना सवारी अनुमति पत्र आवेदन र ट्रायल परीक्षा रोकिएको थियो ।

तर, पुनः दोस्रो लहरको कारण तीन महिना पूर्णरुपमा सञ्चालन हुन नपाउँदै सबै प्रक्रिया स्थगित भएको थियो ।

अब भने देश पुरानै अवस्थामा फर्किन लागेको अवस्था र लगभग सबै क्षेत्र खुल्दै गएपछि यातायात व्यवस्था विभागले फरक मोडालिटिका आधारमा भिडभाड रोकी स्वास्थ्य मापदण्ड पालना गराएर ट्रायल परीक्षा सञ्चालन गराउने योजना बनाएको छ ।

विभागका अनुसार ट्रायल परीक्षा तथा सवारी लाइसेन्स आवेदनको बिषयमा यातायात विभाग प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयमा समन्वय भइरहेको छ ।

यातायात विभागका एक निर्देशकले लामो समयदेखि पुर्णरुपमा लाइसेन्स ट्रायल परीक्षा हुन नसेको र तीन महिनामै १० लाख भन्दा बढी लाइसेन्सका लागी आवेदन परेकाले विभाग सवारी प्रयोगात्मक परिक्षा खुलाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

‘विभागले नयाँ मोडालिटको आधारमा स्वास्थ्य मापदण्ड प्रयोग गरी ट्रायल परिक्षा खुलाउन प्रशासन तथा यातायात कार्यालयहरुसँग छलफल थालिसकेको छ,’ उनले भने ।

उनका अनुसार संक्रमणदर घटे डेढमहिना भित्र लाइसेन्स ट्रायल परीक्षा खुलाउने विभागको तयारी छ । नयाँ मोडालिटि अनुसार एकदिनमा निश्चित कोटा तोकेर परीक्षा सञ्चालन गराउने गरी प्रक्रिया अघि बढेको ती निर्देशकको भनाई छ ।

यातायात विभागले आसार १ गतेदेखि अंक प्रणालीमा ट्रायल परीक्षा लागू गरिसकेको छ ।

अब हुने ट्रायल परिक्षामा नयाँ प्रणालीले प्रयोगात्मक परीक्षालाई सरल बनाउने र अधिकांश सेवाग्राही ट्रायल पास भएसँगे यातायामा चाँप घट्ने विभागको अनुमान छ ।

त्यस्तै यो लकडाउनका अविधमा लिखित तथा प्रयोगात्मक परीक्षाको समय लिएका सेवाग्राही अलमलिएको अवस्था छ । जसका लागी यातायात कार्यालयले दिएको समय सर्ने विभागले जनाएको छ ।

त्यसका लागी जुन यातायात कार्यालयबाट ट्रायल परीक्षाको समय लिएको हो सोहि अनुसार लाइसेन्स आवेदन खुलाएपछि सम्पर्क गर्नुपर्ने छ ।

हाल यातायात व्यवस्था विभागले स्मार्टकार्ड ल्याउन नसकेपछि एक बर्षका लागि अस्थाइ परिक्षणकालिन सवारी अनुमाति पत्र साउनदेखि वितरण गर्ने समेत तयारी छ ।

अहिले ट्रायल परीक्षा पर्खेर लाखौं सेवाग्राही बसिरहेका छन भने नयाँ लाइसेन्स आवेदन दिने पनि उतिकै रहेका छन् ।