पोर्चुगलमाथि जर्मनीको सानदार जित

जागृति खबर संवाददाता

काठमाडौँ, ६ असार ।

युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।

यसै समूहअन्तर्गत शनिबार भएको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स हंगेरीसँग हारबाट जोगिएको थियो । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएयो । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो ।

यो बराबरीपछि फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । १२ नोभेम्वर २०२० मा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग २–० ले पराजित भएपछि फ्रान्सले ७ जित र २ बराबरीको नतिजा निकालेको छ ।