श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट पनि पुन: श्रम स्वीकृति पाइने

जागृति खबर संवाददाता

काठमाडौं, १ असार ।

श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगर, सुर्खेतले प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक बुधबार पुनः श्रम स्वीकृति दिने जनाएको छ ।

वैदेशिक रोजगार विभागको जेठ २६ गतेको निर्णय र जिल्ला प्रशासन कार्यालय सुर्खेतसँगको समन्वयमा २०७८ असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने कार्यालयले जनाएको छ ।

साथै यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका सेवाग्राहीहरूका लागि मात्रै भएकाले यस अघि बायोमेट्रिक भएका सेवाग्राहीहरुले कार्यालयमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाट नै सेवा प्राप्त गर्नेगरी फाराम भर्नुहुन कार्यालयले अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को तीव्र संक्रमण र जोखिम नियन्त्रणलाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा गत बैशाख १४ गते देखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको थियो ।

सो पश्च्यात बैशाख १५ देखि श्रम कार्यालयबाट भौतिक रूपमा स्वयम् व्यक्ति उपस्थित भई पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले तोकिएका स्वास्थ्य मापदण्डहरूको पूर्णरूपले पालना गर्नुपर्ने जनाइको छ ।