जुन २४ मा नेपाल-जापान उडान हुँदै, यस्ता भिसा भएकाले प्रबेश पाउने

जागृति खबर संवाददाता

टोकियो, १ असार ।

नेपालबाट जापानको लागि यही जुन २४ तारिख नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले नेपाल जापान सिधा हवाई उडान स्थगित भएको करिब २ महिनापछि काठमाडौंदेखि नारिताको लागि उडान भर्न लागेको हो ।

उडान तालिका अनुसार काठमाडौंबाट नारीताको लागि जुन २४ तारिख शुक्रबार रात ११ बजे बिमान उड्ने छ । यसैगरी जापान नारिता बिमानस्थलबाट बिमानले जुन २५ तारिख बिहान ११ बजे नेपालको लागि यात्रा तय गर्नेछ ।

नेपाल एयरलाइन्सले जापानको लागि उडान खुलाएपनि जापानले नेपालमाथि लगाएको प्रतिबन्ध यथावत छ । जसका कारण नेपाल एयरलाइन्सको जापान उडान खुलेपनि यात्रा असहजता उस्तै रहने भएको छ । हालको अवस्थामा केवल ४ वटा भिसामा रहेकाहरुले मात्र नेपालबाट जापान प्रबेश पाउँछन ।

जसमा ‘एईजु’ बाहक, जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष, तिनका सन्तान (बालबालिका) र जापानी नागरिक रहेका छन । यसबाहेक मानबिय बिशेष अवस्थामा (जापानमा नै उपचार गर्दै आएका, मृत्‍युका कारण अन्तिम क्रियाकर्ममा आऊनै पर्ने) ब्यक्तिहरु रहेका छन । तर बिशेष अवस्थाको घटनामा जापानले चाहेमा मात्र वा दिनैपर्ने अवस्था देखेमा मात्र दिन सक्छ ।

जापानबाट नेपाल जाने यात्रुले अनिवार्य १० दिन होटलमा क्वारिन्टिन बस्नुपर्नेछ । यसको लागि नेपाल सरकारले पर्यटन बोर्ड मार्फत तोकेका ६० होटल मध्ये कुनैमा बस्नुपर्नेछ ।९ औं दिनमा गरिएको पिसिआर परीक्षण रिपोर्ट नकारात्मक आएमा मात्र दशौं दिनमा आफ्नो घर जान पाइनेछ । नेपाल उड्नु पहिलेनै प्लेनको टिकट लिनुअघि आँफैले सरकारले तोकेको होटलमा कोठा ‘बुकिङ’ गराएको कागज ट्राभल एजेन्सिमा पेश गर्नुपर्नेछ ।

यसमा ट्राभल एजेन्सिको सहयोगमा पनि होटल बुकिङ गराउन सकिन्छ । विश्वमै सर्वाधिक कोरोना महामारी चलिरहेको ईन्डियाबाट खुलमखुल्ला नेपाल प्रबेश गरिरहंदा जापानबाट पीसीआर परीक्षण गरेर जानेमाथि सरकारले लगाएको यो नियम अब्यवहारिक देखिएको छ । नेपाल सरकारले हालको अवस्थामा जापान सरकारले तोकेको जुनसुकै ल्याबबाट यस अघी जस्तैगरि पीसीआर परीक्षण गराउन सकिन्छ ।

सरकारले पीसीआर रिपोर्टको साथमा ‘वारकोड’ लगायत आवस्यक रहेको बताएपनि जापानमा क्लिनिक तथा अस्पतालहरुले पीसीआर रिपोर्टको साथमा ति कागजात उपलब्ध गराउने नगरेकाले तत्काल आवश्यक नरहनेगरी नेपाल सरकारलाई जानकारी गराइएको नेपाली राजदूतावासका द्वितिय सचिव प्रेम बरालले जानकारी दिनुभयो ।

नेपालबाट जापान आउने सबै यात्रुले जापान सरकारले तोकेको स्थानमा १० दिन र बाँकी ४ दिन आफ्नो बासस्थानमा ‘सेल्फ क्वारिन्टिन’ बस्नुपर्नेछ । जापान सरकारले तोकेको स्थानमा बस्दा लाग्ने खर्च ब्यक्ती आँफैले ब्यहोर्नुपर्नेछ । नेपालबाट आउँदा यसअघी जस्तै ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट कोभिड संक्रमण नभएको आवश्यक पर्नेछ ।