विदेशबाट घर बिदामा आएका श्रमिकको गुनासो : कम्पनीले खोप लगाएर आऊ भन्छ, यहाँ पाइँदैन

जागृति खबर संवाददाता

काठमाडौं, ३१ जेठ ।

साउदीको ‘अरब केएएफ एम’ जुत्ता कम्पनीमा कार्यरत लमजुङका दिनेश बिक ७० दिनको घर बिदामा फागुन अन्तिममा नेपाल आए । कम्पनीले दिएको बिदा सकियो । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उनी फर्कन पाएका छैनन् । उनको तीन हप्ता बिदा थप भएको छ ।

कम्पनीले सकेसम्म कोरोनाविरुद्धको खोप लगाएर आउनु भनेको दिनेश बताउँछन् । श्रम कार्यालय ताहाचलमा भेटिएका उनले भने, ‘गाउँदेखि नै कोभिड खोप लगाउन खोजेको कतै पाइनँ । नेपालमा खोप लगाउन सहज भएन भनेर कम्पनीलाई भनेको छु । हुन्छ भनेको छ । उतै गएर क्वारिन्टिन बसेर खोप लगाएर काममा फर्किन्छु ।

कतारबाट घर बिदामा आएका धनकुटाका रवि कटुवालको समस्या पनि उस्तै छ । उनी कतारको ग्रुप फोर कम्पनीमा सुरक्षा गार्डमा कार्यरत छन् । रोजगारीका लागि कतार जाने विदेशी कामदारले रोजगारदाता कम्पनीको नियमअनुसार कोरोनाविरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य मापदण्ड तोकिएको छ । सरकारी नियमअनुसार सकभर कोभिड खोप लगाएर आउन कम्पनीले ई–मेलमार्फत जानकारी गराएको रवि बताउँछन् ।

‘कम्पनीलाई नेपालमा कोभिड खोप लगाउन पाइनँ, पीसीआर टेस्ट गरेर आउँछु भनेको छु । समस्या बुझेर कम्पनीले हुन्छ भनेको छ । बुधबार पुनः श्रम स्वीकृतिका लागि टोकन छ,’ रविले भने, ‘चैत पहिलो साता घरबिदामा आएको थिएँ । २ जूनभित्र कतार पुग्नुपर्ने थियो । कोरोना कारण रोकिएँ । कोभिड खोप पनि लगाउन पाइनँ ।

कतार पुगेपछि १० दिन कम्पनीले तोकेको होटलमा क्वारिन्टिनमा बस्नुपर्ने तथा दुई पटक कोरोना परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएपछि मात्र काममा जान पाइने उनले बताए ।

बहराइनबाट घर बिदामा आएका चितवन भरतपुरका पवन क्षत्री पनि कम्पनीले कोभिडविरुद्धको खोप लगाएर आउन भनेको बताउँछन् । २० दिनदेखि खोप लगाउन प्रयास गरेको भए पनि नपाएको उनी बताउँछन् ।

‘एक साताभित्र बहराइन फकिनुपर्ने छ । अहिलेसँम्म खोप लगाउन पाइनँ । अब बहराइन नै गएर कम्पनीसँग भनेर खोप लगाउनुपर्ने भयो,’ उनले भने ।

वैदेशिक रोजगार विभागका अनुसार घरबिदामा आएका १० हजारभन्दा धेरैले पुनःश्रम स्वीकृतिका लागि आवेदन दिएका छन् ।