ठगिदै रोजगारका लागी बिदेश पुगेका नेपाली, चार्टर्ड उडानका नाममा मनपरी असुली

जागृति खबर संवाददाता

काठमाडौं ।

चार्टर्ड उडानका नाममा वायुसेवा प्रदायक कम्पनीले यात्रुबाट मनलाग्दी भाडा लिएको गुनासोपछि सरकारले जेठ १८ बाट तीन देशमा नियमित उडान सुचारु गर्यो ।

सीमित उडानलाई मात्र अनुमति दिइएकाले यात्रुले सहजै टिकट पाउन सकेका छैनन् । यात्रुको मर्कालाई ट्राभल एजेन्टले भने कमाउने अवसरका रुपमा प्रयोग गरी भाडा दोब्बर असुलिरहेका छन् ।

इलामका अरुण बस्नेतलाई जेठ १२ मै अमेरिका पुग्नुपर्ने थियो । तर उनले अझै टिकटको जोहो गर्न सकेका छैनन् । वायुसेवा प्रदायकका तोकिएका एजेन्टसँग सम्पर्क र ट्राभल एजेन्सीमा धाउनु उनको दैनिकीजस्तै बनेको छ ।

अमेरिका जान सामान्य अवस्थामा ८० हजार देखि १ लाख रुपैयाँ भाडा लाग्नेमा यात्रुसाग अहिले पौने दुई लाख रुपैयाँ माग्न थालिएको छ ।

चार्टर्ड उडानमा अचाक्ली भाडा असुलिएको गुनासोपछि सरकारले जेठ १८ मा कतारको दोहा, टर्कीको इस्तानबुल र चीनमा नियमित उडानको अनुमति दिएको थियो ।

एजेन्सीहरुका अनुसार, युरोप र अमेरिका जाने यात्रुका कारण इस्तानबुलमा थेगिनसक्नु छ । किनभने, त्यहाँ साताको एक दिन बिहीबार मात्र उडान हुन्छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार दोहा जाने यात्रुसँग ४० प्रतिशतसम्म बढी भाडा असुलिएको छ । यसरी मनपरी भाडा उठाइरहादा नियामक निकाय भने रमितेजस्तै छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुगमन र कारवाहीमा तत्परता देखाएको छैन ।

सीमित उडानका कारण यात्रुले टिकट पाउन नसकेको र पाए पनि चर्को भाडा तिर्नुपरेको गुनासोपछि पर्यटन मन्त्रालयले उडान बढाउने प्रस्ताव मन्त्रिपरिषदमा लाने बताएको छ ।

चीनमा भने सातामा एक दिन गर्ने भनिएको नियमित उडान अझै सुचारु भएको छैन । कुनै पनि वायु सेवा प्रदायकले अनुमति नमागेकाले चीनतर्फ उडान हुन नसकेको हो ।