भारतको श्रीलंका टूर : टिममा नपरेपछि उनादकटले दिए यस्तो प्रतिक्रिया

जागृति खबर संवाददाता

काठमाडौं, ३० जेठ ।

जयदेव उनादकट तीव्र गतिका अनुभवी भारतीय बलर हुन्। तर, उनी श्रीलंका भ्रमणका लागि घोषित टिममा परेनन्।

उनादकटले श्रीलंका भ्रमणका लागि आफूलाई भारतीय टिममा समावेश नगरेकोमा प्रतिक्रिया दिएका छन्। बीसीसीआईको यस निर्णयप्रति उनी दुखी छैन। यो निर्णय बिर्सिदै आफ्नो करियर अगाडि बनाउन उनी चाहन्छन्।

आफ्नो ट्वीटरमा प्रतिक्रिया व्यक्त गर्दै उनादकटले कसरी आफू क्रिकेट खेल्न प्रेरित भए भनेर उल्लेख गरेका छन्।

‘म सानै छँदादेखि मैले क्रिकेटर बन्ने सपना देख्न थालें। म महान् क्रिकेटरहरूलाई हेरेरै प्ररित भएको हुँ। धेरै वर्षदेखि मैले खेल्ने अनुभव प्राप्त गरेको छु। यी दिग्गज खेलाडीहरूले कहिल्यै हार मान्दैनथे। मैले आफैंमा पनि सोही कुरा लागू गरें,’ उनले भने, ‘जब म जवान थिएँ, मान्छेले मलाई राम्रो बरलर मानेनन् तर विस्तारै मान्छेहरूको सोचाइ परिवर्तन भयो किनकि म परिवर्तन भएँ। यस खेलले मलाई धेरै दिएको छ। म किन मौका पाउँदिन वा कहिले मेरो समय आउँछ भनेर सोच्दिनँ। मैले पहिले पनि अवसर पाइसकेको छु। र, अब पनि पाउने नै छु।’

उनादकटले आफ्नो कप्तानीमा सौराष्ट्रलाई रणजी ट्रफीको उपाधि दिलाएका थिए। त्यस सिजनमा उनी सर्वाधिक विकेट लिने खेलाडी थिए।

उनले १० खेलमा १३.२३ को औसतमा ६७ विकेट लिएका थिए। यद्यपि, यसको बावजुद उनी भारतीय टिममा चयन भएनन्। यसअघि सौराष्ट्र टोलीका कोच रहेका करसन घावरीले उनादकटको उमेरका कारण टिममा चयन नभएको खुलासा गरेका थिए।