बसुन्धारामा स्कुटर बिजुलीको पोलमा ठोक्किदा चालकको मृत्यु

जागृति खबर संवाददाता

काठमाडौं, २९ जेठ ।

काठमाडौंमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका(२२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । यता, कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलस्थित सडकमा लु १ च ५७२८ नम्बरको पिकअपले लु ५९ प ३०४६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका(५ कटिहवा बस्ने २६ वर्षीय विजय कुमार यादव समेत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।