डायबेटिजको बिरामीले बेग्लै खाना खानु जरुरी छैन

जागृति खबर संवाददाता

सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो । तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन कि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो र रगतमा भएको चिनी शरीरको अंगहरुमा नपुग्नु हो।

जे जति हामीले खान्छौ पिउँछौ, चाहे त्यो आलु होस्, भात होस्, ढिँडो, चाउचाउ, च्याख्ला, बिस्कुट, मासु, माछा, जेसुकै होस्, सबै कुरा पेटमा गएर बन्ने सुगर नै हो । फरक यति छ कि कुनै खाना छिट्टै चिनीमा परिणत हुन्छ त कुनै खाना ढिलो । त्येसैले सुगर हुनेले यो खान हुन्छ त्यो खान हुन्न भनिन्छ, जुन सही होइन । सुगर भनेको भात खान नहुने रोग भन्ने प्रचलन अझ बढी छ । आलु खान नहुने भनिन्छ । यो सबै गलत हो।

रगतमा सुगरको मात्रा बढी देखिनु भनेको हामीले त खाना खायौं खाएको खानेकुरा पेटमा गएर सुगर (चिनी) बन्यो, त्यो कुरा इन्धनको रुपमा हाम्रो शरीरले प्रयोग गरेन भन्ने हो । अर्को अर्थमा खाएको खानेकुरा पेटमा गयो सुगर (चिनी) बन्यो अनि खेर गयो । त्यो शरीरका अंगहरूले खान पाएन अनि अगंहरू भोकै रह्यो ।

हामीले खाएको खानेकुराहरु पेटमा गएर पाचन भइसकेपछि सुगर (चिनी) बन्छ र रगतमा जम्मा हुन्छ |

पेटमा इन्सुलीन भन्ने हार्मोन उत्पादन हुन्छ । यसलाई पेन्क्रियाज भन्ने अंगले उत्पादन गर्छ । यो पेटको तलपत्तीकाे भागमा हुन्छ । उत्पादन भएको इन्सुलीनले हामीले खाएको खानाबाट बनेको चिनीलाई सबै अगंमा प्रवेश गराउने काम गर्छ ।

पेन्क्रियाजबाट उत्पादन भएको इन्सुलीनले एउटा चाबीले ताला खोलेर ढोका खोलेको जस्तै रगतमा भएको चिनीलाई शरीरको बिभिन्न अंगहरुभित्र प्रबेश गराउने काम गर्छ ।

जब हाम्रो शरीरमा इन्सुलीनको मात्रा कमी हुन्छ वा इन्सुली नभएर पनि अंगहरु बाहिर रहेको ताला खोल्न सक्दैन तब चिनी शरीरका अंगहरुमा प्रवेश गर्न पाउँदैन । यही अवस्था हो सुगर भनेको ।

सुगर भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन, शरीरमा इन्सुलिनको मात्रा कमी वा भएको इन्सुलिनले सहि तरिकाले काम गर्न नसक्नु हो ।

येसैले डायबेटिज भनेको रगतमा सुगर (चिनी) को मात्रा बढी भएको तर शरीरमा इन्सुलिनको मात्रा कमी भएर (insulin insufficiency) वा इन्सुलिनले ताला खोल्न नसकेर (insulin resistance) विभिन्न अंगहरुमा सुगर (चिनी) नपुगेको अवस्था हो ।

सुगर भनेको गुलियो चिज खाएर लाग्यो, आलु र भात धेरै खाएर लाग्यो, चिनी धेरै भएर लागेको रोग भन्छौ तर यो गलत हो ।

डायबेटिज भएको मानिसले गुलियाे खान हुँदैन भन्ने होइन । थोरै मात्रामा गुलियो खादैमा केही फरक पर्दैन । जे खाए पनि पेटमा गएर सुगर (चिनी) बन्ने नै हो । चाहे गुलीयो चिज खानु होस चाहे गुलियो नभएको खानेकुरा खानु होस पेटमा गएर बन्ने चिनी नै हो ।

जस्तै, भात र आलु खान हुन्न भनिन्छ यो गुलियो भएर त होइन । तर शरीरमा गएर यस्ता खानेकुराहरु बिस्तारै चिनीमा परिणत हुन्छन् । यसमा कार्बोहाइड्रेट धेरै हुन्छ । सुगर भएको बेला कार्वोहाइड्रेट भएको खानेकुरा नखाने होइन कम खाने तर पटक-पटक गरेर खाने गर्नुपर्छ ।

डायबेटिजमा के खाने कसो खाने भनेर सोच्न जरुरी छैन । हामीले बजारमा हेर्छौ सुगर-फ्री बिस्कुट, सुगर-फ्री केक, सुगर-फ्री सेलरोटी, सुगर-फ्री मिठाइ भन्छौ यो सबै खोजी खोजी खान जरुरी छैन | झन येस्तो कुरामा चिनी हुँदैन्न भनेर धेरै खाने गर्छौ, तर झन येस्ता खाने सबैकुराहरु मैदाले बनेको हुन्छ जस्ले रगतमा सुगर (चिनी) काे मात्र बढाउँछ |

त्येसैले हामीले गुलियोमा मात्रै सुगर हुन्छ भन्न भएन, गुलीयो भनेको प्रत्यक्ष सुगर हो तर अरु कुरा अप्रत्यक्ष सुगर हो । त्यही भएर डायबेटिज (सुगर) भएको बेलामा के खाने भन्ने प्रश्न होइन की कति खाने भन्ने प्रश्न हो। “डायबेटिज (सुगर) हुनासाथ आत्तिनु हुँदैन, यसले जिउन सिकाउँछ, आचरण सुधारे आयु बढाउँछ”

डायबेटिज (सुगर) भएको मान्छेको लागि अलग्गै प्रकारको खानेकुरा जरूरी पर्देन । यस्तो चलन संसारको कुनै पनि देशमा छैन | हाम्रो देशमा मात्रै किन यस्तो भनिएको छ ? यो सुगर-फ्री, त्यो सुगर-फ्री भनेर नचाहिने हल्ला मात्र गरिएको हो ।

यो, त्यो खानेभन्दा पनि कति खाने भन्ने सोच्नु पर्छ । थोरै खाने धेरै चोटी खाने तर के खाने भनेर सोच्ने होइन । रक्सी चुरोट खान भएन यो सबैलाई थाहा छ ।

बोसो चिल्लो खान भएन । चिनीबाट बनेका चिजहरु धेरै सकभर खान भएन । अरू जे खाए पनि हुन्छ । धेरै खाने होइन तर थोरैथोरै धेरै पटक खानु पर्दछ।