मुख्यमन्त्री निवासअगाडि राखिएको गाडीभित्र चालक बेहोस, अस्पताल पुर्‍याउनासाथ मृत्यु

जागृति खबर संवाददाता

विराटनगर, २५ जेठ ।

विराटनगर महानगरपालिका– ३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको हो ।

आफैँले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मङ्गलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । नोबेल मेडिकल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्र चालक सिटमा सुतिरहेको अवस्थामा ढकाल भेटिएका थिए । घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासको अगाडि पर्छ ।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि लगियो,’ डीएसपी राईले भने, ‘अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।’

उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्थे । डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्रहरीले जनाएको छ ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकाल मन्त्रालयकै क्वार्टरमा बस्छन् । उनले आफूलाई लिन आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खबर आएको र हेर्न जाँदा मृत्यु भएपछि आफूले भेटेको जानकारी दिए ।

समयमा चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो । बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ उनले भने, ‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्पर्क हुन सकेन । पछि बेहोस भेटिएको खबर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो ।’

चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् ।

मुख्यमन्त्री निवासअगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरू सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको पोस्टमार्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत विवरण प्राप्त हुने डीएसपी राईले बताए ।