धुम्रपान गर्ने मानिसले फोक्सोको क्यान्सरका लागि नियमित जाँच गर्नुपर्ने

जागृति खबर संवाददाता

काठमाडौं ।

धुम्रपानले फोक्सोको क्यान्सर निम्त्याउँछ भन्ने कुरा अधिकांशलाई थाहा हुन्छ ।

तर, अझै पनि धेरै जना धुम्रपान त्याग्न तयार छैनन् वा त्याग्न सकिरहेका छैनन् । धुम्रपान गर्ने व्यक्तिले प्रारम्भिक चरणमा फोक्सोको क्यान्सर पत्ता लगाउनका लागि नियमित फोक्सोको जाँच गर्नुपर्ने डाक्टरहरूले सल्लाह दिएका छन् ।

फोक्सोमा हुने क्यान्सरको उपचार राम्रो हुँदै गए पनि अन्य क्यान्सरको तुलनामा धेरैजसो पुरुष तथा महिलाहरू फोक्सोको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् ।

फोक्सो आन्तरिक अङ्ग हो र फोक्सोको क्यान्सरको अवस्थामा गाँठोजस्ता देखिने लक्षणहरू हुँदैनन् । फोक्सोको क्यान्सर हुँदा यसले प्राय कुनै लक्षण नदेखाउने हुँदा यो घातक हुनसक्छ ।

धुम्रपान गर्ने मानिसमा फोक्सोको क्यान्सरको जोखिम धेरै हुन्छ भनेर बुझ्नु जरुरी छ । औषधि सेवन गरेर पनि तीन हप्ताभन्दा बढी खोकी लागिरहेमा यस्तो खोकीलाई बेवास्ता गर्नु हुँदैन ।

फोक्सोको क्यान्सर हुने अधिकांश बिरामीको रोग पहिचान भएको एक वर्षमा मृत्यु हुन्छ । वा, तीमध्ये १७ प्रतिशत मानिसहरू पाँच वर्षसम्म मात्र बाँच्न सक्छन् । बिरामीहरूले फोक्सोको क्यान्सर अन्तिम चरणमा रिपोर्ट गर्ने हुँदा यस्तो हुने हुन्छ । फोक्सोको क्यान्सर धेरैजसो समय अन्तिम चरणमा पहिचान हुने हुँदा यो उपचार गर्न गाह्रो हुन्छ ।

त्यसैले, क्यान्सरको कुनै पनि सङ्केत वा लक्षणहरू नदेखिए पनि धुम्रपान गरिरहेका व्यक्तिले डाक्टरहरूसँग परामर्श लिएर जाँच गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाएर उपचार गर्दा र धुम्रपान त्याग्दा जीवनमा केही वर्ष थप्न सकिन्छ ।

५० वर्षभन्दा माथिका धुम्रपान गर्ने मानिसले वर्षमा एक पटक फोक्सोको क्यान्सरका लागि जाँच गर्नु पर्छ । धुम्रपान त्यागेका व्यक्तिले समेत १५ वर्षसम्म हरेक वर्ष क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।