प्रचण्डको प्रस्तावमाथी छलफल गर्ने पक्षमा, ओली नआए छुट्ने चेतावनी…

जागृति खबर संवाददाता

काठमाडौँ, १३ जेठ ।

नेकपा स्थायी कमिटिका सवै सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्नु पर्ने पक्षमा देखिएका छन् ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनु पर्ने र प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमा सहभागी नहुने अडान राखिरहेका बेला स्थायी कमिटिका सवै सदस्य त्यसको विपक्षमा देखिएका हुन ।

बैठकमा कसैले पनि प्रचण्डको प्रस्ताव फिर्ता लैजानु पर्छ र स्थायी कमिटिमा छलफल हुनुुहँुदैन भनेर कसैले नभनेको स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । नेपाली बहसमा उहाँले भन्नुभयो, “एउटा महत्वपूर्ण कुरा के छ भने हिजोको बैठकमा बोल्ने कसैले पनि प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल गर्नु पर्दैन भनेर भनेका छैनन् ।”

उहाँले स्थायी कमिटिका सवै नेताहरु छलफलको पक्षमा रहेको र प्रधानमन्त्री ओली मात्रै एक्लै विपक्षमा रहेको बताउनुभयो । बैठकमा भन्न, बोल्न, लेख्न जे गर्न पनि पाइन्छ र पाइनु पर्छ भन्ने नै सबै सदस्यहरुको मत रहेको नेता ज्ञवालीले जानकारी दिनुभयो । “प्रधानमन्त्री ओली पार्टीको बैठकमा नै सहभागी नहुुनु र कसैको सुझाव सुन्न पनि चाहन्न भन्नु गलत छ,”उहाँले भन्नुभयो ।

नेता ज्ञवालीले पार्टीका नेताहरुको कुरा सुनेर मात्रै अगाडि बढ्न सकिने भएकाले छलफलमा सहभागी हुन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले ओलीलाई बैठकमा सहभागी हुन र त्यहीबाट निकास निकाल्न पटक पटक आग्रह गर्दा पनि ओलीले अटेरी गरिरहेको उल्लेख गर्दै उहाँले अव पनि धेरै समय पर्खिन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, स्थायी कमिटिको विमान स्टर्ट भइसक्यो, अव रोकिदैन, पाइलट आउनु भयो भने आउनुहुन्छ, नआएपनि प्लेन अव अगाडि बढ्छ । उहाँले एक हप्ताको समय दिएर यही मङ्सिर २८ गते फेरी बैठक बोलाइएकाले त्यस बैठकमा पनि उहाँ आउनु भएन भने छुट्ने बताउनुभयो ।
अध्यक्ष ओली आउनु भएन भनेर पार्टीले सधैँ उहाँलाई कुरिरहन नसक्ने र अर्को अध्यक्षले भएपनि बैठक अगाडि बढाउने कुरामा सवै सहमत भएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।