निषेधाज्ञा जारि रहेकै बेला एकाएक गृह मन्त्रालयले दियो यस्तो आदेश

जागृति खबर संवाददाता

काठमाडौं, ८ जेठ ।

गृहमन्त्रालयले निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ।

गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएका हुन् ।

सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए ।

बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।