ओलीका कारण दासढुंगाको अनुसन्धान राेकियाे : सीपी मैनाली

जागृति खबर संवाददाता

सीपी मैनाली ।

२०५० सालको जेठ ३ गते दासढुंगामा जसरी दुर्घटना भयो त्यो स्वाभाविक होइन भन्ने कुरा जगजाहेर छ। त्यति बेला म तत्कालीन नेकपा एमालेमै थिएँ। दुर्घटना भएको थाहा हुने बित्तिकै म त्यहाँ पुगेको थिएँ। त्यहाँ जे जस्तो घटनाको प्रकृति थियो, जसरी घटना घट्यो, ड्राइभर जुन ढंगले निस्कियो, जुन ढंगले त्यहाँ बाटोमा भुसका चिह्नहरू बनाइएका थिए, यी सबै कुराले हेर्दा त्यो घटना सामान्य दुर्घटना लागेन। खासमा सामान्य घटना हुँदै होइन। घटाइएको घटना हो।

२ दिनपछि तल नारायणी नदीमाथिको पुल भन्दा १२/१३ किलोमिटर तल बगरमा मदन भण्डारी कमरेडको शव थियो। नदीमा गोहीहरू पनि थिए र अन्य जलचरहरू पनि पक्कै हुनुपर्छ। तर मदन भण्डारीको शवलाई ती जलचरहरूले केही असर नगरेको जस्तो देखिएको थियो। अन्डरवेयर मात्र लगाएको शव थियो। पहिलो नजरमै त्यो सामान्य होइन भन्ने कुरा कन्फर्म नै भयो।

पछि २/३ वटा आयोग बनाइयो। तर आयोगहरूले पनि त्यो घटना घटाइएको हो भन्ने तथ्य पुष्टि गरेनन्। पछि पार्टीको तर्फबाट केपी शर्मा ओलीलाई नै एउटा आयोगको संयोजक बनाइएको थियो। त्यो आयोगले केही शंकास्पद कुरा गरे पनि केही टुंगो लगाएन। केपी ओलीले बीचमै त्यसको अध्ययन अनुसन्धान गर्न छोडिदिए।

यसरी अनुसन्धान अलपत्र भएको र निश्चित ठाउँमा पुग्न नसकेको हो। त्यसपछि पटक-पटक एमालेको सरकार बनेको भए पनि अध्ययन टुंगोमा पुग्न सकेन। अहिले उहाँको धर्मपत्नी राष्ट्रपति हुनुहुन्छ र उत्तराधिकारी भएको दाबी गर्ने व्यक्ति केपी ओली प्रधानमन्त्री हुनुहुन्छ। छानबिनको जिम्मेवारी उहाँकै हुनुपर्ने हो। इतिहासकै गर्भमा त्यो घटना लुकेर बसेको छ।

राजनीतिक हिसाबले हेर्ने हो भने देशको पक्षमा बोल्ने राजादेखि रंकसम्मका व्यक्तिहरू, नेताहरू पनि षड्यन्त्रद्वारा मारिने घटना भइरहेको हामीलाई थाहा नै छ। त्यही सिलसिलाको घटना हो।

भण्डारी मार्क्सवादको व्याख्याता थिएनन्

२०३० सालमा हामीलाई पञ्चायत सरकारले समातेको थियो। हामीले २०३३ सालमा जेल ब्रेक गर्‍यौं। त्यसपछि मात्र पुष्पलालको संगठनमा रहनुभएका केही कमरेडहरू विद्रोह गरेर निस्कनु भयो। विद्रोह गर्ने टोलीको नेता जीवराज आश्रित हुनुहुन्थ्यो। त्यो टिममा मदन भण्डारी पनि हुनुहुन्थ्यो। मोरङमा उहाँको घर थियो। संस्कृत पढ्ने सिलसिलामा बनारस हुँदै हरिद्वार जानुभएको हो।

पुष्पलाल नेता रहनुभएको नेकपाको सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। पार्टीमा चाहिँ उहाँको भूमिका खासै थिएन। पछि विद्रोह गरेर मुक्ति मोर्चा बनाएर उहाँहरू आउनुभयो। ३४ सालको भदौतिर कोअर्डिनेसन केन्द्र र मुक्ति मोर्चाको समूहबीच एकीकरण भयो। हामी संगठित भएर सँगै काम गर्‍यौं। उहाँ अर्धभूमिगत जस्तो मोरङ क्षेत्रको काम गर्नुभयो। वामदेव गौतम पनि मुक्ति मोर्चाकै समूहमा हुनुहुन्थ्यो।

विभिन्न कारणवश उहाँ षड्यन्त्रमा पर्नुभयो। उहाँका विचारमा सहमति विमति रहे पनि उहाँ देश र जनताकै सेवाको लक्ष्य राख्दा राख्दै मारिनुभएको हो। उहाँलाई सम्मान गर्नुपर्छ, म पनि गर्छु। यो एउटा पाटोको कुरा भयो।

उहाँ पुष्पलाल समूहमा पनि केन्द्रीय कमिटीमा पुग्ने हैसियत भइसकेको थिएन। उहाँ संस्कृत अध्ययनमा आचार्य तहमा हुनुहुन्थ्यो। भाषा राम्रो थियो, राम्रो बोल्नु हुन्थ्यो। तर उहाँ राजनीतिक वैचारिक हिसाबले मार्क्सवादको व्याख्याता बनिसक्नु भएको थिएन।

मालेलाई वैचारिक शून्यतामा पुर्‍याइयो

मुक्ति मोर्चाले विद्रोह गर्‍यो र त्यो टिममा संलग्न हुनुभएको हो। २०३५ सालमा नेकपा मालेको गठन भयो। पार्टी स्थापनापछि जनमत संग्रहको घोषणा भएको थियो। जनमत संग्रह घोषणा भएपछि नेकपा मालेको विवाद पनि सतहमा आयो। त्यसले हामीलाई सतहमा आउन मदत पनि पुर्‍यायो।

पहिले झापा विद्रोह कालमा हामीले सशस्त्र संघर्ष गरेर जनगणतन्त्र स्थापना गर्ने हाम्रो उग्रवामपन्थी लक्ष्य थियो। हिंसाको बलमा स्थापित पञ्चायतको विरुद्ध हिंसा प्रयोग गरेर लड्नुपर्ने परिस्थिति पनि सिर्जना भएको थियो। हामीले लिएको लक्ष्य राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले स्वीकार्य नहुने खालको उग्रवामपन्थी नै थियो।

जनमतसंग्रहमा आउने बेलासम्म ३५ सालमा स्थापित नेकपा मालेको केन्द्रीय नेतृत्व मोटामोटी रूपमा अहिले जनगणतन्त्र स्थापना गर्ने कार्यनीति लिने बेला होइन, यो एउटा रणनीतिक लक्ष्य हो भन्ने मान्यतामा थियो। हाम्रो राष्ट्रिय, क्षेत्रीय स्थिति त्यसको प्रतिकूल थियो। कस्तो कार्यनीति लिने भन्ने विषयमा तत्कालीन नेकपा माले जनमत संग्रह घोषणा भएपछि २०४६ सालको कात्तिकसम्म अल्मलिइरह्यो।

त्यो बहसमा एउटा ठूलो हिस्साले राजतन्त्र हटाएर पूँजीवादी गणतन्त्र ल्याउने कुराको पैरवी गर्‍यो। त्यति बेलाको राजनीतिक भाषामा हामीले त्यसलाई ‘राजनीतिक स्वतन्त्रताको कार्यदिशा’ भन्थ्यौं। मैले जनगणतन्त्र घोषणा गर्ने तत्कालीन कार्यदिशा हुन सक्दैन भने। मार्क्सवादी शिक्षाअनुसार जुन आफ्नो शक्तिले प्राप्त गर्न सकिन्छ, त्यही कार्यनीति लिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता थियो। जसले रणनीतिक लक्ष्यमा पुग्न सहयोग गरोस्।

त्यति बेला मालेमा मदन भण्डारी र माधवकुमार नेपाल मात्र त्यस्ता नेता थिए जसले राजा हटाएर पूँजीवादी गणतन्त्र ल्याउने कार्यनीतिलाई पनि स्वीकार गरेनन्। पञ्चायत हटाएर बहुदलीय प्रजातन्त्र ल्याउने सीपी मैनालीको कार्यदिशाको पनि विरोध गरे। ती दुई व्यक्ति मदन भण्डारी र माधव नेपाल हुन्।

दुई वर्षभरि पार्टी कुन दिशामा हिँड्ने भनेर ठूलो बहस भइरहेका बेला यी दुवै व्यक्तिहरूमा कुनै निश्चित कार्यनीतिक सोच थिएन। पछि मैले लिएको कार्यनीतिमा उतार चढाव हुँदै मलाई दमन गर्न खोजियो तर २०४६ सालको कात्तिकमा मेरै कार्यनीतिलाई तत्कालीन मालेले स्वीकार गर्‍यो।

बहुदलीय जनवादको व्याख्या

त्यही कार्यनीति लिएर माले जनआन्दोलनमा गयो। बहुदलीय शासनव्यवस्थालाई कार्यनीति बनाउन तयार नहुने मदन भण्डारी २०४६ सालको परिवर्तनपछि छलाङ लगाएर बहुदलीय प्रजातन्त्रलाई नै केन्द्रीय नीति मानेर अघि बढे। यही बाटो हुँदै उनी जनताको बहुदलीय जनवादको नीति प्रतिपादन गर्ने ठाउँमा पुगे।

बहुमतको सरकार हुने र अल्पमतको विपक्ष हुने परिपाटी त्यो र त्यस्तै वरिपरिका विधिको शासनका विषयहरू लिएर मदन भण्डारी आउनुभयो र त्यसैलाई क्रान्तिको सिद्धान्त बनाउनुभयो। मैले त्यसलाई क्रान्तिको सिद्धान्त बनाउन सकिन्न भन्ने गर्थें।

त्यति बेला माओत्से तुङको भाषामा भन्ने हो भने त्यति बेला क्रान्तिको सिद्धान्त नयाँ जनवाद थियो। पुष्पलाल कमरेडले पनि त्यही शब्दावली प्रयोग गर्नुभएको थियो। त्यो नयाँ जनवादी सिद्धान्तलाई २०४९ सालमा मदन भण्डारीले तोडमरोड गरेर जनताको बहुदलीय जनवाद बनाइदिनुभयो। त्यसको दश वर्ष अघिसम्म मदन भण्डारी बहुदलको पक्षमा हुनुहुन्नथ्यो। तर २०४६ सालपछि उहाँमा बदलाव आयो।

उहाँले बहुदलीय प्रजातन्त्रलाई नै केन्द्रीय विषयवस्तु बनाएर जबजको नीति प्रतिपादन गर्ने ठाउँमा पुग्नुभयो। उहाँ मार्क्सवादको कच्चा विद्यार्थी हुनुहुन्थ्यो। हिजो छिपछिपे ज्ञानले त्यही अवस्थामा पञ्चायती व्यवस्थालाई पल्टाएर जनताको बहुदलीय प्रजातन्त्र ल्याउने कुरालाई गलत देख्नुभयो।

अन्तर्राष्ट्रिय हिसाबमा सोभियत संघको विघटन भएर मार्क्सवाद र समाजवादको विरुद्धमा एउटा राजनीतिक प्रहार व्यापक रूपले हुन थालेपछि उहाँले बहुदलीय प्रजातन्त्रलाई नै सिंगारपटार गरेर बहुदलीय जनवाद भनेर अघि सार्नुभयो। त्यति बेला नै त्यो नीति बेठिक थियो, अहिले त झन् बेठिक छ।

मदन भण्डारी जति बेला वैचारिक हिसाबले परिपक्व बन्नुभएको थिएन त्यति बेला जनताको बहुदलीय जनवाद भनेर गलत नीति अघि सार्नुभएको हो। उहाँले नयाँ जनवादी क्रान्तिको सट्टामा बहुदलीय जनवाद भनेर आउनुभयो। नेपाली क्रान्तिको सिद्धान्त नयाँ जनवाद हुनुपर्नेमा उहाँ बहुदलीय जनवाद भन्नुभयो र त्यसले पार्लियामेन्ट्री डेमोक्रेसी नै थियो।

जबज- युरो कम्युनिजमको नक्कल !

उहाँले जबजको सिद्धान्त अघि सार्नुभन्दा पहिला युरोपमा एउटा लहर आएको थियो ‘युरो-कम्युनिज्म’ भन्ने। जसले पूँजीवादी प्रजातन्त्रको माध्यमबाट नै वैज्ञानिक समाजवाद ल्याउन सकिन्छ भन्ने गर्थ्यो। आफूलाई कम्युनिस्ट भन्ने युरोपका मान्छेहरूले यो विश्वास राख्थे। त्यो युरो कम्युनिजम त्यहाँ १० वर्ष पनि टिकेन। त्यो बिलायो।

विकसित पूँजीवादी देशहरूमा पनि असफल भएको त्यही युरो कम्युनिजमलाई नेपालजस्तो देशमा लागू गर्ने भद्दा नक्कल गरियो, त्यो बिलकुलै गलत थियो। उहाँको मृत्युपछि उहाँका अनुयायीहरूले बहुदलीय जनवाद भन्दै पूँजीवादी प्रजातन्त्रको सिद्धान्तलाई कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुभएको छ। मदनको समयमा जबजलाई सिद्धान्त मान्दा १० वटा गल्ती भएको थियो भने अहिले पनि त्यसैलाई सिद्धान्त मानेर हिँड्दा १०० गल्ती हुन्छ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई सन्देश

एउटा कुरा वास्तवमा एक जना देशको चर्चित व्यक्तित्व, नेता मदन भण्डारीको षड्यन्त्रपूर्वक हत्या भयो, त्यसको खोजीनिती गर्ने काममा राष्ट्रपति रहनुभएकी उहाँकै उत्तराधिकारी र धर्मपत्नी भएको नाताले लाग्नुपर्छ। प्रधानमन्त्री ओलीले पनि आफू उत्तराधिकारी भएको दाबी गर्नुभएको छ तर षड्यन्त्रको अनुसन्धानमा उदासीन देखिनु हुँदैन।

जस्तो विचार लिएको भए पनि देशकै पक्षमा बोल्दा बोल्दै मारिनुभयो, उहाँ सहिद हुनुभयो। उहाँको व्यक्तिगत सम्मान र उहाँले जुन विचार अघि सार्नुभएको छ, त्यसलाई अलग-अलग हिसाबले बुझ्नुपर्छ। उहाँले लिनुभएको विचार चाहिँ कति वस्तुसंगत थियो, कति मार्क्सवादी थियो र त्यसले कम्युनिस्ट आन्दोलनलाई कति योगदान गर्‍यो भनेर पनि हेर्नुपर्छ।

उहाँहरू दुवै जनालाई मैले के अपिल गर्छु भने एउटा जुझारु नेताको हैसियतले मदन भण्डारीलाई जे जसरी सम्मान गरे पनि उहाँले ल्याएको विचार सिद्धान्तलाई मार्क्सवादी ढंगले हेरिनुपर्छ। मदन भण्डारीको व्यक्तित्व र उहाँको सिद्धान्तलाई छुट्याएर हेर्ने दृष्टि दुवैलाई प्राप्त होस्। –सूत्र न्युजबाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।