माओवादीका नेता कार्यकर्तालाई तान्न बन्यो यस्तो योजना, प्रचण्ड तनावमा !

जागृति खबर संवाददाता

काठमाडौँ, ३ जेठ ।

नेकपा एमालेमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता प्रवेश गर्ने तयारीमा छन् । हालैमात्र नेकपा एमालेका युवा नेता महेश बस्नेतले केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने प्रयास असफल भएपछि माओवादी केन्द्र कैयन नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको सनसनीपूर्ण खुलासा गरे ।

माधव नेपालले धोका दिएकै दिन पनि हरिबोल गजुरेल र देवेन्द्र पौडेलहरुले बैठकमै प्रचण्डको आलोचना गर्दै असन्तुष्टि पोखेका थिए । यसरी असन्तुष्ट नेता कार्यकर्तालाई तान्न एमालेले मास्टर प्लान बनाएको छ ।

नेता बस्नेतपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादीबाट आउनेलाई उचित व्यवस्थापन गर्ने बताएका छन् ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा नेता पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिने घोषणा गरे ।

जसरी अहिले रामबहादुर थापा बादलसहित लेखराज भट्ट, प्रभु साहलाई जिम्मेवारी दिइएको छ त्यसैगरी अब आउनेलाई पनि सम्मानजनक व्यवस्थापन गर्ने योजना रहेको पोखरेलको भनाइ छ ।

पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गरे । एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।

विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी गरे ।

“एकैपटक समाजवादी कार्यक्रम कि पूँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ”, उनले भने, “एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।