कोरोना कहर : अक्सिजन खरिदका लागि राजाराम पौडेलले गरे एक लाख सहयोग

जागृति खबर संवाददाता

काठमाडौँ, ३ जेठ ।

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा अक्सिजन ग्यासको खपत ह्वात्तै बढेको छ । छिमेकी मुलुक भारतमा अक्सिजन अभावको समाचार आइरहँदा नेपालमा पनि अक्सिजन अभाव हुनसक्ने त्रासले सिलिण्डर ‘होल्ड’ हुन थालेपछि अस्पतालमा उपचारार्थ कोरोनाका बिरामीले अक्सिजन पाउन सकेका छैनन् । कति कोरोना संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाएका छन् ।

यस्तो अवस्थामा नेपाली कलाकारहरुले सहयोगी हात अगाडि बढाएका छन् । अभिनेता पल शाह केही दिनदेखि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन दिनरात खटिरहेका छन् । निखिल उप्रेतीसहितको टिमले पनि आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीलाई अस्पतालसम्म जान निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् ।

यसैक्रममा, हास्य कलाकार राजाराम पौडेलले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् । उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि बिहीवार एक लाख सहयोग गरेका हुन् । दर्शक कलाकारको अन्नदाता भएका कारण दर्शकको जीवन बचाउन आफूले सहयोग गरेको उनले बताएका छन् ।

अहिले पैसाका कारण भन्दा पनि अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको उनको भनाई छ । उनले फेसबुकमा लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजननै चाहिँने रहेछ । त्यसैले अक्सिजनको व्यवस्था गर्न राष्ट्रिय आविस्कार केन्द्रलाई आफूले सकेको सहयोग गरेको छु । पैसाले स्वास फेर्न सकिन्न, स्वास फेर्न अक्सिजन नै चाहिन्छ ।