आजबाट उपत्यकामा अत्यावश्यकबाहेक कार्यालय खोल्न नपाइने

जागृति खबर संवाददाता

काठमाडौँ, ३० वैशाख ।

उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार, कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी कोरोना संक्रमण तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि अत्यवाश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ। सूचनामा भनिएको छ, “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ।”

त्यस्तै, अत्यावश्यक सेवाका कार्यालयमा पनि जनशक्ति घटाउन निर्देशन दिइएको छ। सेवा प्रवाहमा कुनै व्यवधान नआउने गरी न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

बुधबार राति १२ बजेबाट तेस्रो पटक थपिएको निषेधाज्ञा लागू भएको छ। यस पटक तीनै जिल्लाका प्रमखु जिल्ला अधिकारीले १३ जेठसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन्। यसअघि जारी गरिएको निषेधाज्ञा आज सकिँदै थियो।

काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू भएको हो। शुरूआतमा एक साता लगाइएको निषेधाज्ञा २२ वैशाखमा एक साता थपिएको थियो।

आजबाट अत्यावश्यक सामाग्रीका पसल बिहान १० बजेसम्म खोल्न पाइनेछ। औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दाबाहेक घरबाहिर ननिस्किन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।