भारतमा फैलिएको दोस्रो लहरले निम्त्याउँदै छ मानवीय संकट

जागृति खबर संवाददाता

काठमाडौँ, ३० वैशाख ।

भारतमा कोभिड १९ को महामारी बढ्दै जाँदा दक्षिण एसियाको आर्थिक क्षेत्रमा असर परेको छ ।

यो भयावह महामारीबाट कहिले मुक्त हुन र कति मानवीय क्षति हुन्छ भन्ने अनिश्चत छ । यसले आर्थिक अवस्था पनि भयावह बनाउँदै मानवीय संकट निम्त्याउन सक्ने देखिन थालेको छ ।

अर्थतन्त्रमा भारत तेस्रो एसियाली देश हो । कोरोना महामारीको दोस्रो लहरजस्तो डरलाग्दो पहिलो लहर थिएन । आर्थिक अवस्था भने पहिलो लकडाउनबाटै खस्किन थालेको हो ।

धेरै देशले सुरक्षाका नयाँ नियम र निषेधाज्ञा लागु गर्दा पनि प्रधानमन्त्री नरेन्द्र मोदी देशव्यापी लकडाउन गर्न हिचकिचाउनुको एउटा कारण आर्थिक क्षेत्र पनि हो । प्रधानमन्त्रीले आर्थिक दुरवस्थालाई कारण ठान्दै पूर्ण लकडाउन गर्न चासो नदिए पनि धेरै व्यवसायीहरूको मत भने फरक छ ।

अवस्था भयावह बन्दै जाँदा मानवीय क्षति हुने, जनशक्तिमा काम गर्ने जाँगर नहुने र उपचारमा धेरै खर्च हुने कारणले लकडाउन नगरे पनि बजार तहसनहस नहुने ती व्यवसायीहरूको मत छ ।

संयुक्त राष्ट्र संघको विकास र उद्योग सम्मेलनमा संसारका ८० प्रतिशत सामान निर्यात समुद्री मार्गबाट हुने ठहर भएको थियो । इन्टरनेसनल चेम्बर अफ सिपिङले जनाएअनुसार संसारमा रहेका समुद्री जहाजका १७ लाख कामदार मध्ये २ लाख भारतीय छन् ।

चेम्बरका महासचिव गाय पाटनले महामारी चाँडो अन्त्य नभए आपूर्ति संयन्त्र तहसनहस हुनसक्ने आशंका प्रकट गरेका छन् ।

धेरै देशले भारतसँगको आवागमन बन्द गरेपछि भातीय कामदार अन्यत्र जान रोकिएका छन् । संसारमा पानी जहाजको सबैभन्दा ठूलो लजिस्टिक कम्पनी ‘मर्स्क’ ले समुद्री मार्ग ठप्प भए मानवीय आवश्यकता पूरा गर्न कठिन हुने आशंका प्रकट गरेको छ ।

मर्स्कले कतै कोरोना महामारी मात्र नभई अन्य अत्यावश्यक सामग्रीको अभावमा धेरैले ज्यान गुमाउनु पर्ने त होइन भन्ने चिन्ता व्यक्त गरेको छ । मस्र्कमा ३० प्रतिशत कामदार भारतीय छन् ।

गत वर्ष समुद्री मार्गका धेरै कामदारले जहाजमै बन्दीझैँ जीवन बिताएका थिए । लामो समय यसरी बिताउनु परेपछि उनीहरूमा मानसिक समस्या देखिन थालेको थियो । कतै यो वर्ष पनि यस्तै अवस्था आउने हो कि भन्ने चिन्ता बढेको छ ।

संयुक्त अरब इमिरेट्स, सिङ्गापुर, हङकङ र चीनले भारतबाट केही पनि आयात नगर्ने जनाइसकेका छन् । समुद्री यातायातका कामदारलाई भ्याक्सिन वितरण एउटा समाधान हुन सक्ने जनाइएको छ ।

महामारीले उग्र रूप धारण गरेपछि भारतले कोरोना भ्याक्सिन अन्त नपठाउने भइहाल्यो । अन्य भ्याक्सिन पनि भारतबाट जान रोकिएको छ । प्रायः देशले भारतसँगको सबै आवागमन बन्द गरेपछि अन्य रोगको उपचारमा समेत समस्या पैदा भएको छ । संसारका सबै रोगका कुल भ्याक्सिनको ६० प्रतिशत भारतमै उत्पादन हुन्छ ।

केही महिना अघिसम्म भारतले आफ्नै देशको सेरम इन्स्टिच्युटले उत्पादन गरेको भ्याक्सिन संसारमा वितरण गर्दै आएको थियो । सेरम इन्स्टिच्युट नै संसारको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी हो ।

भारतमा महामारी बढेसँगै सेरम इन्स्टिच्युटको शक्ति अन्य रोगका भ्याक्सिन छाडेर कोरोनाको भ्याक्सिन बनाउन केन्द्रित भएको छ । यो अवस्था लामो समय रहेमासंसार भर नै समस्या पैदा हुने चिन्ता देखिन थालेको छ ।

भारतमा फैलिएको कोरोनाको दोस्रो लहरले भारतलाई मात्र होइन संसारलाई नै प्रभावित पार्नेछ । सबैभन्दा ठूलो असर औषधि, टेक्स्टाइल, गार्मेन्ट र छालाका उत्पादनमा पर्नेछ । सञ्चार र विज्ञापन उद्योगमा पनि असर पर्नेछ ।

सेरमले गत वर्ष संसारका ९२ देशसँग २० करोड डोज भ्याक्सिनका लागि सम्झौता गरेको थियो । भारतमै हालसम्म २ प्रतिशत मानिसले मात्र दुवै डोज भ्याक्सिन पाएका छन् । भारतमा महामारी नरोकिए अन्य औषधि उत्पादक कम्पनीमा असर पर्नेछ । यसले अवस्था निकै खराब बनाउन सक्ने छ ।

भारत उही कम्पोजिसनमा कम मूल्यका सबै भन्दा धेरै औषधि उत्पादन गर्ने देश हो । सन् २०२० को अप्रिलमा भएको एक अध्ययनले अमेरिकामा प्रयोग हुने सामान्य औषधीको एक तिहाइ भारतमा उत्पादन हुने ठहर गरेको थियो ।

भारतका औषधी धेरै औषधि कम्पनीले चीनबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । अप्रिलको अन्त्यमा सिचुवान एयरलाइन्सले भारतमा विमान आउजाउ बन्द गरेको छ । भलै यो निर्णय १५ दिनका लागि हो तर भारतको संकट घटेन भने यो अवधि बढ्न सक्नेछ ।

यस्तो समस्या समाधानका लागि भारतीय औषधी निर्यात तथा प्रवद्र्धन समितिका महानिर्देशक रविउदय भास्करले निर्यात चेनका कारणले सबैतिर समस्या उत्पन्न हुने जानकारी चिनियाँ अधिकारीहरूलाई गराएका छन् । चीनले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

जोन हप्किन्स केरी बिजनेस स्कुलका एक जना प्राध्यापकले संसारका धेरै देश भारतीय औषधिमा निर्भर रहने र कच्चा पदार्थमा भारत चीनमा निर्भर रहने भएका कारण आवागमन बन्दले धेरै समस्या उत्पन्न हुने बताएका छन् ।

अहिले भारतमा पर्याप्त औषधि छैन । ठूला कम्पनीसँग केही महिनाका लागि मात्र कच्चा पदार्थ छ ।

भारत संसारमै सबैभन्दा धेरै टेक्सटाइल निर्यात गर्ने देश हो । यही भारतमा अहिले कामदारको समस्या सबैभन्दा धेरै देखिएको छ ।

पञ्जाबको चर्चित एनजी एपारेल्सका अधिकारी यस्तो समस्या कहिल्यै पनि नदेखेको र तयारी पनि नगरेको बताउँछन् । यस कम्पनीले न्यु ब्यालेन्स र नोर्टड्रम लगायत ब्रान्ड उत्पादन गर्छ ।

यस कम्पनीमा दक्ष र अर्ध दक्ष गरी कुल २ सय जना कामदार रहेकोमा आधाले काम छाडेका छन् । कामदार रोक्न कम्पनीले आवासको व्यवस्था गर्न थालेको छ ।

अर्को कम्पनी बजिर एड्भाइजर्सका अनुसार सबैभन्दा धेरै संक्रमण रहेका दिल्ली र बङ्गलोरमा गार्मेन्ट उद्योगका ५० प्रतिशत कामदार कोरोना भाइरसबाट संक्रमित छन् । धेरै उद्योग बिस्तारै पुरानो क्षतिबाट उक्सिने प्रयासमा रहेकै समयमा कामदारको जीवन रक्षा मुख्य चुनौती बनेको छ ।

बजिरका अनुसार घरेलु बजारमा उपभोग ३० प्रतिशतले घटेको छ भने निर्यात २४ प्रतिशतले । सन् २०२१ को यो लहर कहिले सकिन्छ र कस्तो परिणाम दिन्छ भन्ने अनुमान गर्न अझै कठिन भएको छ ।

भारत छाला र गार्मेन्टमा संसारको राम्रो निर्यातकर्ता देश हो । संसारमै भारत गार्मेन्टको निर्यातमा दोस्रो तथा छालाका सामग्रीको निर्यातमा चौथो देश हो । वार्षिक तीन अर्ब जोर जुत्ता उत्पादन गर्ने भारत फुटवेयरमा चीनपछिको दोस्रो देश हो । गत वर्ष महामारीका कारण यो क्षेत्रलाई ठूलो धक्का लागेको थियो । यो वर्ष बिस्तारै उक्सिँदै गर्दा दोस्रो लहर शुरू भयो ।

ठूला बैंक र वित्तीय संस्थानहरू इन्टरनेट कारोबारमा केन्द्रित हुन थालेका छन् । एकाएक आएको यो समस्यामा बैंकहरू सम्हालिनै कठिन भएको छ । यो समस्या भारतको मात्र होइन, संसारकै हो ।

भारतको ‘राष्ट्रिय सफ्टवेयर तथा सर्भिस कम्पनी संघ’ ले आइटी र यससम्बन्धी व्यवसायको क्षेत्रमा ४४ लाख मानिस आबद्ध रहेको जनाएको छ । धेरै कम्पनीहरूले आफ्ना कामदारलाई घरमै बसेर काम गर्न प्रेरित गरेका छन् ।

परिचित आइटी कम्पनी ‘गोल्ड म्यान साच’ र ‘वेल्स फार्गो’ ले त आफ्ना कामदारलाई ग्रामीण भेगमा पठाएका छन् । घरमै बसेर काम गर्न पनि अहिले कठिन हुन थालेको छ । महामारी बढ्दै जाँदा धेरै कामदारले घरमा बिरामी हेर्नुपर्ने भएको छ ।

धेरै कामदारले अत्यन्त संवेदनशील डाटामा काम गर्ने भएका कारण यत्रतत्र काम गर्दा सुरक्षा र गोपनीयतामा समस्या हुने चिन्ता त छँदै छ ।

कामदार आफैँ बिरामी हुने, घरमा अर्को सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आएपछि धेरै जसो कम्पनीहरू वैकल्पिक व्यवस्था गर्न थालेका छन् ।

दोस्रो लहरको महामारी शुरू हुनुअगावै भारतमा केही व्यापार र व्यवसाय उपयोगी हुने ठहर गरिएको थियो । खासमा समुदायमा ऊर्जाको काम सबैभन्दा उपयोगी हुने ठहर धेरैको थियो । इन्टरनेटको संरचना तयार गर्ने कम्पनी र मोबाइल वालेट तथा मोबाइल कम्पनी उपयोगी हुने ठानिएको थियो ।

यी सबै व्यवसाय समस्यामा पर्न थालेका छन् । एउटा समय थियो, भारतमा क्रिकेट र बलिउड सबैभन्दा धेरै चल्ने समाचारका विषय थिए । यसैलाई आधार मानेर धेरैले टिभी विज्ञापनको काम सबैभन्दा उपयोगी ठानेका थिए । अहिले यी दुवै क्षेत्र तहसनहस भएका छन् ।

फिल्मी दुनियाँ त उक्सिनै कठिन हुने गरी भासिएको छ । जीवन नै कठिन भएपछि क्रिकेटमै यसरी रमाउने भारतीयको आदत पनि फेरिन सक्नेछ । यसबाट सञ्चार उद्योग र विज्ञापन उद्योग पनि तहसनहस हुने अनुमान गरिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।