पूर्वबैंकर निरज श्रेष्ठका बाबु–छोराको १२ घण्टाको अन्तरमा मृ’त्यु

जागृति खबर संवाददाता

काठमाडौँ, २९ वैशाख ।

पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको बुधबार बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण मृत्यु भएको थियो।

श्रेष्ठ केही दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सुध्रिएपछि उनले आफ्नो बेड अरुलाई दिन भनेका थिए। उनलाई संक्रमणले फेरि च्याप्यो तर अस्पतालमा बेड पाएनन्।

श्रेष्ठ माछापुच्छ्रे बैंक हुँदै केही दिन सनराइज बैंकको सीईओसमेत भएका थिए। सनराइजमा सञ्चालक समितिमा विवाद भएपछि उनले राजीनामा दिएका थिए। तत्कालिन ग्रिनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोवल आइएमई बैंकमा पनि काम गरेका थिए। जानकारहरुका अनुसार उनको दक्षता बैंकको जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा थियो।

श्रेष्ठका श्रीमती र एक छोरी छन्। तर उनीहरु दुवै नयाँ दिल्ली पुगेको र कोरोना संक्रमण देखिएकोले उतै अड्किएका छन्।

बुटवलमा अक्सिजनको चरम अभाव, थप ६ संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको बताए । ‘दैनिक आपूर्ति हुने करिब २५० सिलिन्डर हो , खपत झन्डै ४ सय सिलिन्डर हुन्छ’ उनले भने, ‘अक्सिजनको चरम अभाव भएको छ ।’

यसैबीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसमध्ये रुपन्देहीका मात्र ५ जना रहेका छन् । मृतक एकजना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए। गएरातिबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।

मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेहरुमा ५७ , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको गौतमले बताए । उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना भएका थिए ।