नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो : डाक्टर चन्द्रमणि अधिकारी (भिडियो )

जागृति खबर संवाददाता

काठमाडौं, २९ बैशाख ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स (ध्वस्त) भएकाले स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिनुभएको छ ।

काठमाण्डौ महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डा. अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गर्नुभएको हो ।

सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमितलगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताउनुभएको हो ।

‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ । यसको उदाहरण मेरो अस्पतालको दिन्छु । हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरिदेउ र मुटुका बिरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेउ भन्छ म अहिले पनि लिन सक्छु’ उहाँले भन्नुभयो ।

‘तर अर्को हस्पिटलले कोभिड बिरामीलाई जिम्मा लगाइदिनुपर्छ’ उहाँले जोड दिनुभयो ‘अहिले कसैले पनि जिम्मा लिन नसक्ने भएकाले हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ ।’

उहाँले हामी आवश्यकताअनुसार बनाउनुपर्ने बेड पनि बनाउनसक्ने अवस्थामा नै छैनौ । स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो लहर आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ ? भनेर सोध्नुपथ्र्यो ।

उहाँको भनाई छ ‘बेड व्यवस्थापन गर्ने कुरा एक दिनको होइन । म दुःखका साथ भन्छु, वीर अस्पतालको पाँच सय शैैयाको छ तर अहिलेसम्म संञ्चालन गर्न नसक्नु भनेको लाजमर्नु अवस्था हो । हामी के हेरेर बसिरहेका छौ ?’

बिरामी इमरजेन्सी बाहिर बसिरहेको अवस्था दर्शाउँदै अधिकारीले भन्नुभयो ‘पाँच सय शैयाको वीर अस्पताल टुलुटुलु हेरेर बसिरहेको छ, यसको जिम्मा कस्ले लिने ? यो मिटिङ १ वर्ष अगाडि शुरु गर्नु पथ्र्यो, उहाँले भन्नुभयो ।

उहाँले महामारीमा उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । बेड बढाउने विषय नै मुख्य चुनौती रहेको भन्दै उहाँले ७० वर्षभन्दा माथिकालाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको समेत बताउनुभएको छ ।

सबै अस्पतालमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बिरामीले भरिएकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्नसक्ने अवस्था नरहेको पनि अधिकारीले बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । अब हाम्रो अस्पताल पनि कोभिड अस्पताल भइसक्यो । अहिले थप गरेर २१ वटा आईसीयु बनाएका छौं । अब हाम्रोमा कुनै पनि आईसीयु छैन । इमरजेन्सीलाई पनि पूर्णरुपले कोभिड बनाएका छौं ।

हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमरजेन्सी बनाउनुपरेको छ । अहिले मलाई एउटा फोन आईरहेको थियो एकजना मुटुसम्बन्धी रोग लागेको बिरामीलाई लिइदिनुहोस् भनेर तर हामी लिनसक्ने अवस्थामा छैनौं ।

९० वटा अक्सिजन सिलिण्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले १ सय ८५ सिलिण्डर प्रयोग गरिरहेका छौ । जन आस्था