ओलीलाई पार्टीकै मत मिल्न गाह्रो– ‘पर्ख र हेर’को रणनीतिमा नेपाल समूह

जागृति खबर संवाददाता

काठमाडौं, २० बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पर्ख र हेरको अवस्थामा पुगेको छ। ओलीले वैशाख २७ गते दिउँसो १ बजे विश्वासको मत लिने भएपछि एमालेको माधव नेपाल पक्ष भने उनको रणनीतिलाई हेरेर मात्रै अगाडि बढ्ने तयारीमा पुगेको हो।

संसदको वर्षे अधिवेसन बोलाउने समय भइसक्दा पनि प्रधानमन्त्रीले विश्वासको मत लिन मात्रै ‘विशेष अधिवेशन’ बोलाएको भन्दै नेपाल पक्षका नेताहरुले आशंका व्यक्त गरेका छन्। संसदबाट बजेट ल्याउँदा अवरोध हुने स्थिति देखेपछि स्वास्थ्य संकटकाल लगाएर बजेट पारित गर्ने योजना हुन सक्ने एमालेको झलनाथ खनाल तथा माधव कुमार नेपाल पक्षका नेताहरुको आकलन छ।

संसदमा विश्वासको मत पाउने सम्भावना न्यून देख्दा देख्दै प्रधानमन्त्री ओलीले संसद अधिवेसन बोलाउनु अर्थपूर्ण भएकाले सामान्य रुपमा लिन नहुने नेताहरुले बताएका छन्।

अहिले प्रतिनिधि सभामा २७५ सदस्यमध्ये माओवादीका चार सांसद् पदमुक्त भएकाले २७१ जना मात्रै छन्। कांग्रेस र जसपाका गरी ४ सांसद निलम्बित भएकाले मत दिन पाउँदैनन्। अब प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा बहुमत सिद्ध गर्न १३६ सांसदको मत पाउनुपर्ने हुन्छ।

ओली नेतृत्वको एमालेका १२१ सांसद छन्। १२१ सांसदमध्ये ३५ जना नेपाल–खनाल पक्षका छन्। ३५ मध्ये नेपाल पक्षका २७ सांसदलाई ‌ओली स्पष्टीकरण सोधेर ‘आक्रोशित’ बनाइसकेका छन्।

यसअघि कर्णाली प्रदेशमा नेपाल पक्षका २ सांसदले फ्लोर क्रस गरेर ओली पक्षका नेता यमलाल कँडेलको मुख्यमन्त्री हुने योजना तुहाइदिएका थिए। प्रतिनिधि सभामा पनि त्यो स्थिति दोहोरिन सक्ने धेरैको आकलन छ।

ओलीको आफ्नै पार्टी एमालेमा अहिलेसम्म करिव ८६ जना सांसद् मात्रै उनको पक्षमा खुलेका छन्। कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुमध्ये १०९ जना मतदान दिन पाउने भएपनि उनीहरुले ओलीको विपक्षमा मतदान गर्ने निश्चितजस्तै छ। ३४ सांसद रहेको जसपाका २ जना निलम्बनमा रहेकाले ३२ जनाले मतदान गर्न पाउँछन्। तर, जसपाबाट पनि ओलीले एकमुस्ट मत पाउने सम्भावना निकै कम छ।

जसपा बाबुराम भट्टराई र उपेन्द्र यादव तथा पक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको नेतृत्वमा स्पष्ट २ समूहमा विभाजित छ। बाबुराम–उपेन्द्र समूहले ओलीलाई कुनै हालतमा मतदान गर्न नसक्ने बताउँदै आएको छ। ओलीलाई मतदान गर्नुपरे पार्टी नै विभाजन गर्ने मनस्थितिमा बाबुराम–उपेन्द्र समूहका नेताहरु छन्।

वैशाख १४ गते बसेको बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठकमा १८ सांसदले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए।

अहिलेसम्म जसपाको ठाकुर–महतो पक्ष भने ओलीलाई समर्थन गर्ने मनस्थितिमा छ। ठाकुर–महतो पक्षमा १४ जना सांसद छन्। यसबाहेक प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १, राष्ट्रिय जनमोर्चाका १, राप्रपाका १ र स्वतन्त्र सांसद् १ जना छन्। त्यसमध्ये नेमकिपाले मात्रै ओलीलाई सघाउने देखिएको छ।

अहिलेको अवस्थामा ओलीको पक्षमा प्रतिनिधि सभामा एमालेको उनकै समूहका ८६, जसपाको ठाकुर–महतो पक्षका १४ तथा नेमकिपाका १ जना सांसद देखिएका छन्। ती सबै गर्दा उनले १०१ मत पाउने सम्भावना देखिएको छ। एमालेभित्रको नेपाल पक्षका ३५ मध्ये सबैले मत दिएको अवस्थामा मात्रै उनले विश्वासको मत पाउँने अवस्था छ।

तर, विश्वासको मत लिने विषयमा ओलीले पार्टीमा आफू इतरको समूहका नेता र सांसदसँग सल्लाह गरेका छैनन्। पार्टीकै सांसद समेत विरुद्धमा हुँदा ओलीले विश्वासको मत लिन खोज्नुलाई नेपाल पक्षका नेताहरुले भने आशंकाको रुपमा हेरेका छन्।

संसदको वर्षे अधिवेसन नबोलाएर विश्वासको मत लिन मात्रै संसद अधिवेसन बोलाएको विषयलाई नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे गम्भीर रुपमा लिनुपर्ने बताउँछन्। ‘राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक मात्रै बोलाएकी छन्। कुन उद्देश्यका लागि प्रधानमन्त्रीले संसद अधिवेसन बोलाउने निर्णय गर्नुभएको हो, त्यो स्पष्ट बुझ्न सकिएको छैन’, पाण्डेले भने, ‘वर्षे अधिवेसन नबोलाएर किन संसद अधिवेसन मात्रै बोलाए? यो बेला वर्षे अधिवेसन बोलाउनु पर्ने हो। एक दिन विश्वासको मत लिने त्यसपछि सभालाई अन्त्य गर्ने र कोरोना महामारीलाई देखाएर संकटकाल लगाउने र त्यहाँबाट बजेट ल्याउन खोजेको जस्तो लाग्यो।’

नेपाल पक्षकै अर्को स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले ओलीले बाहिर एउटा देखाएपनि भित्र अर्कै गर्ने ‘खेलोफड्को’ गरेको हुनसक्ने बताए। अहिले नै निर्णय गरेर जाने भन्दा उनको रणनीतिलाई मध्यनजर गर्दै अघि बढिने ज्ञवालीले बताए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।