भोलि राति १२ बजेदेखि सरकारले पुनः लगाउने भयो यस्तो नियम, हुने भयो झनै कडा

जागृति खबर संवाददाता

काठमाडौं, २० बैशाख ।

मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ। आइतबार निवास बालुवाटारमा भएको बैठकले आन्तरिक हवाई उडानमा रोक लगाउने निर्णय गरेको हो। यो निर्णय सोमबार मध्यरातदेखि लागू हुनेछ।

‘आन्तरिक र केही देशसँग अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय बैठकले गरेको हो। बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने निर्णय गरिएको हो। त्यस्तै ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको छ। अरू देशमा पूर्ववत् अवस्थामा उडान हुने छन्।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।

यो संगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

नेपाल प्रेसका अनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ । साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले जानकारी दिए । ‘अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

नेपालमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेपछि वैशाख १६ गतेदेखि देशका विभिन्न भागमा निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न शनिबार साँझसम्म संक्रमण बढेका काठमाडौँ उपत्यका लगायत २९ जिल्लामा निषेधाज्ञा गरिएको हो ।

कोरोना संक्रमणको पहिलो लहरमा तीनजना संक्रमित हुँदा २०७६ चैत्र ११ गते सरकारले पहिलोपटक लकडाउन सुरु गरेको थियो । तर, लकडाउन खुलेको १४ दिनमै संक्रमणको दर ह्वात्तै बढेको थियो । यसपटक पनि सरकारले लकडाउनकै नीति अवलम्बन गरेको छ । तैपनि हरेक दिन संक्रमितको संख्या रेकर्ड दरमा वृद्धि भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।