एनएसएल : पोखराको थन्डर्सका सामु ललितपुरका लाखे

जागृति खबर संवाददाता

काठमाडौं, १९ बैशाख ।

नेपाल सुपर लिग (एनएसएल) मा आज (आइतवार) एकमात्र खेल खेलिने छ। दशरथ रंगशालामा साँझ ५:३० बजे पोखरा थन्डर्स र ललितपुर सिटी एफसी आमने सामने हुने कार्यक्रम रहेको छ।

नवयुग श्रेष्ठको कप्तानीमा पोखराले अहिलेसम्म ३ खेलमा १ जित, १ बराबरी र १ हारको नतिजा निकालेको छ भने ललितपुर एफसीले यस प्रतियोगितामा जितको स्वाद चाख्न बाँकि नै छ।

अंक तालिकामा पोखरा गोल डिफरेन्सको आधारमा ४ अंकसहित चौथौं स्थानमा छ भने अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर केवल २ अंकसहित सातौं स्थानमा छ।

हिजो (शनिवार) खेलिएका दुई खेलमध्येको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।