सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

जागृति खबर संवाददाता

काठमाडौं, १३ वैशाख ।

आइतबार सिंहदरबारमा बसेको बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए ।

उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी भएको निर्णय नै हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो ।

कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’​

यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।

तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।