धनगढीमा पुरुष मृत फेला प्रकरणः होटल सञ्चालकसहित ३ जना पक्राउ

जागृति खबर संवाददाता

धनगढी, २० चैत ।

धनगढीको सनराइज होटलमा पुरुष मृत भेटिएको घटनामा प्रहरीले एक युवतीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले होटल सञ्चालकका छोरा समेत रहेका डडेल्धुराको परशुराम नगरपालिकाका २४ वर्षीय धनराज नेगी, होटलमै कार्यरत बैतडीको सुर्नया गाउँपालिकाका पदम कुँवर र धनगढी उपमहानगरपालिका वडा नम्बर १७ की २३ वर्षीया वर्षा नेपालीलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरु विरुद्ध मृतकका छोरा टेकराज भण्डारीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

बुधबार राति धनगढीको ट्राफिक चौराह नजिकै रहेको सनराइज होटलमा बास बसेका धनगढी उप–महानगरपालिका वडा नम्बर १७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी मृत अवस्थामा फेला परेका थिए।

विगत २ दिनदेखि होटलमै बास बसिरहेका भण्डारी होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताइरहेको छ।

कोठामा दोपट्टाले पासो लगाएको अवस्थामा फेला परेका भण्डारीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको हत्या वा आत्महत्या के हो ? भन्ने बारेमा अहिले नै प्रष्ट भइनसकेकाले अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

हत्या भएको आफन्तको आशंका
घटनाबारे मृतकका आफन्तले प्रहरीले दोहोरो भूमिका खेलेको आरोप लगाएका छन्। उनीहरुले प्रहरीले मृतकको शव नदेखाएको, आफूहरुको सहमती बिना शव उठाएको र होटल सञ्चालक घटना भएका बेला होटलमै रहेपनि प्रहरीले भगाएको आरोप लगाएका हुन।

मृतकका आफन्त रोहित बोहराले प्रहरीको भूमिकाका कारण घटनाबारे आशंका बढाएको बताए। उनले भण्डारीको हत्या भएको आशंका गरिएपनि प्रहरीले शव समेत नदेखाउनु रहस्यपूर्ण भएको बताएका छन्।

प्रहरीको भूमिकालाई लिएर असन्तुष्ट बनेका उनीहरुले बिहीबार दिउँसो धनगढी चौराहमा विरोध प्रर्दशन समेत गरेका थिए।

सवारी साधन बन्द गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई तितरवितर गरेको थियो। सो क्रममा आन्दोनरत पक्षका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएकाले नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्।