होली मेलामा झडप हुँदा एक जना कांग्रेस नेताको ज्यान गएको खुलासा

जागृति खबर संवाददाता

काठमाडौं, १६ चैत्र ।

बागलुङको बडिगाड गाउँपालिका(१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा भएको झडपमा परी मृत्यु भएका एक जना काँग्रेस जिल्ला सदस्य भएको खुलेको छ। आइतवार दुई युवा समूहबीच झडप हुँदा काँग्रेस बाग्लुङका जिल्ला सदस्य प्रकाश कुँवरको मृत्यु भएको हो ।

घटनाको कांग्रेसले निन्दा गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य रहेको उल्लेख गरेका हुन् ।

घटनामा प्रकाश कुँवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका छन्। कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन्,’ आइतवार प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ।’

कांग्रेसले घटनाको पछाडि षड्यन्त्र हुनसक्ने आशंका गर्दै दोषीहरुलाई तत्काल पक्राउ गर्नसमेत माग गरेको छ। ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको कांग्रेसले जनाएको छ।

आइतवार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। उक्त स्थानमा होलीका समयमा हरेक वर्ष मेला लाग्ने वडाध्यक्ष खत्रीले जनाए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।