अस्पतालमा छटपटाउँदै प्रहरीबाटै बलात्कृत किशोरी: मरी भनेर जंगलमा फालेको थियो

जागृति खबर संवाददाता

काठमाडौं, १० चैत्र ।

टवलस्थित अस्पतालको बेड नम्बर १५९ । किशोरी उर्मिला चौधरी (नाम परिवर्तन) अर्धचेत अवस्थामा पल्टिरहेकी छन् ।

अस्पतालको दोस्रो तल्लामा आमा र दिदीले उर्मिलालाई ढाडस दिएर बेडबाट बिस्तारै उठाउँदै पछाडिपट्टि सिरानीमा अडेस लगाएर घरीघरी बसाल्छन् ।

बोल्न खोज्छिन्, तर बोली रोकिन्छ । सम्हालिन नसकेर घरिघिर रुन्छिन् । घाँटी अड्याउन प्रयोग गरिएको सपोर्टले उनलाई अप्ठ्यारो भइरहेको प्रस्ट देखिन्थ्यो ।

वरिपरि बेडका बिरामी र उनीहरूको कुरुवाको ध्यान पनि उर्मिलातिरै छ ।

आफूलाई यो अवस्थामा पुर्‍याउने व्यक्ति प्रहरीको एक जवान भएको उनी बताउँछन् । जनताको सुरक्षामा खटिनुपर्ने रक्षक नै भक्षक भएपछि उनलाई अब जीवनमा कुनै इच्छा र अपेक्षा नै छैन ।

मरी भनेर फालेको अवस्थामा बाँचेर अस्पतालको बेडसम्म आएकोमा खुशियाली मनाऊँ या पश्चाताप गरूँ ? भन्नेमा अन्यौलमा छिन्, उनी । ‘मरी भनेर फालेको थियो, नबाँचेको भए आनन्द हुने थियो,’ उनले रुँदै भनिन् । बिर्सुंभन्दा पनि उनको दिमागमा पटक–पटक त्यो कालो क्षण घुमिरहन्छ ।

उनको अस्मिता लुट्ने त्यो प्रहरी जवान अहिले इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा छ । कारवाही कसरी अघि बढ्यो भन्नेमा उनी जानकार छैनन् ।

यस्तो थियो घटना (पीडित किशोरीले बताएअनुसार)

मामा बितेकाले आमा मामाघरमा थिइनन्, मामा घर गएकी थिइन् ।

उनले आमालाई फोन गरिन्– ‘आमा म आज साथीको घर जमुहानी जान्छु’ भनेर । घरबाट निस्किनेबित्तिकै प्रहरी जवान सुरेश कठरिया (थारू) को फोन आयो ।

साथीकोमा जान लागेको थाहा पाएपछि सुरेश उनलाई पच्छ्याउँदै बाटोसम्मै आयो । उनलाई जंगलतिर जाऊँ भन्यो । उनले म साथीकोमा जान हिँडेकी हुँ, जाँदिन भनिछन् । किन जाने तिमीसँग भनिन्, उनले । धेरै जोडबल गर्दा पनि उनले नमानेपछि सुरेशले उर्मिलाको हातमा रहेको मोबाइल खोसेर गयो ।

मोबाइल खोसेर लगेपछि उनी साथीको घरमा गइनन् । रातभर त्यहीँनजिकै प्लटिङमा बसिन् । भोलिपल्ट सुरेश आएर उनलाई घर छाडिदिन्छु हिँड भनेर बाइकमा जबरजस्ती बसाल्यो ।

उनलाई घर लैजानुको सट्टा जंगलतिर लग्यो । बाटोबाट २ किलोमिटर पर एकान्तमा लगेर उनलाई झोलाको फित्ताले रुखमा बाँध्यो । त्यसपछि के गर्‍यो उर्मिलालाई पत्तो भएन । घाँटीमा कसेको डोरी फुकाली मरी भनेर फालेपछि ऊ त्यहाँबाट भागेछ । शनिबार दिउँसो ११ बजेतिर उर्मिला होशमा आउँदा आफू जंगलमा रहेको थाहा पाइन् । मानिसले पशुवत व्यवहार गरेपनि पशुबाट भने उनी सुरक्षित नै रहिछन् । घिस्रिँदैघिस्रिँदै उर्मिला सुरेशले बाइकमा उठाएर लगेको ठाउँमा आइपुगिन् । उनलाई त्यस्तो अवस्थामा देखेपछि गाउँलेले उद्धार गरे । घरसम्मै पुर्‍याइदिए ।

घरमा पुगेपछि उनले आफूलाई त्यस्तो हालतमा पुर्‍याउने प्रहरी जवानका बारेमा आमालाई भनिन् । त्यसपछि खोजी गर्दा सुरेश कपिलवस्तु पुगेको रहेछ । सुरेशलाई प्रहरीले पक्राउ गरी ल्यायो । अनि उर्मिलालाई परिवारले बुटवलको अस्पतालमा ल्याएर भर्ना गरेको छ । एउटै स्कूल पढेको तथा नजिकैको भए पनि उनीहरूको प्रत्यक्ष चिनजान भने सामाजिक सञ्जालबाट भएको रहेछ ।

सुरेशले आफूलाई विभिन्न प्रलोभन देखाउँदै पटक–पटक भेट्न दबाब दिने गरेको उर्मिला बताउँछिन् । उर्मिलाले आफू गर्भवती छु भनेर भनेपछि सुरेशले मार्ने प्रयास गरेको आमाले बताइन् । दुुई महिनाअगाडि पनि आफूलाई घुम्न जाऊँ भनेर बुटवलतर्फ ल्याएर जबरजस्ती गरेको उर्मिलाले बताइन् । उनीहरू एउटै विद्यालयमा पढ्ने रहेछन् । कक्षा एउटै थिएन ।

सुरेशले उर्मिलालाई म तिमीलाई मन पराउँछु भन्ने गरेका रहेछन् । उनीहरू दुवैको घर एउटै वडा (तिलोत्तमा– ११) मा पर्छ ।

छोरीलाई कुरेर बसेकी आमाको छुट्टै चिन्ता छ । ‘मेरी छोरीलाई अब कसले बिहे गर्छ ? यस्तो हल्ला गाउँभरि चल्यो । अब मेरी छोरी नबिक्ने भई,’ उनले मलिन अनुहार बनाउँदै भनिन् ।

उर्मिलाको परिवार मजदुरी गरेर गुजारा चलाउँछ । उर्मिलाका बुवाको मृत्यु भइसकेको छ । उर्मिलाका आमा घर बनाउने ठाउँमा इँट्टा बोक्ने काम गर्छिन् । त्यसमा उर्मिलाले पनि आमालाई सघाउँथिन् । गत वर्ष एसईई पास भएकी उनले परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्न पाइनन् ।

चेकजाँच गर्दा उनको घाँटीमा चोट देखिएको छ । उनको उपचार खर्च पनि छैन । ‘साथमा १५ सय थियो, त्यही लिएर आएका हौं । पैसा सकियो । अब कसो गर्ने हो ? अस्पतालमा तिर्ने पैसा पनि छैन,’ आमाले भनिन् ।
उर्मिलाका चार दिदीभाइ छन् । उनी कान्छी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले जवान सुरेश कठरिया थारूलाई पक्राउ गरिएको बताए ।

बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा उनलाई रुपन्देहीको मंगलपुरबाट पक्राउ गरिएको राठोरले जानकारी दिए ।

राठोरका अनुसार ललाइफकाइ बलात्कारपछि थारूले झोलाको फित्ताले घाँटी कसेर नजिकैको खाडलमा फालेर भागेका थिए ।

युवतीको मृत्यु भएको भन्ने ठानेर थारु हिँडेको केही समयपछि युवतीको होश खुलेको र गाउँलेको सम्पर्कमा पुगेपछि उनलाई अस्पताल पुर्‍याएका थिए ।

घाँटीमा निलडाम र शरीरका विभिन्न भागमा चोट लागेकी युवतीले आफूलाई बलात्कारपछि हत्या प्रयास भएको बताएपछि घटना सार्वजनिक भएको थियो ।

प्रहरीले युवतीको बयान र उनको परिवारको किटानी जाहेरीपछि आरोपित थारूलाई पक्राउ गरी बलात्कार तथा हत्या प्रयास उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित परिवार दोषीलाई कारवाही हुन्छ भन्नेमा समेत विश्वस्त छैन । ‘प्रहरीले नै आफ्नो साथीलाई के कारवाही गर्लान् र हाम्रो स्थिति कमजोर छ । पहिले मान्छे बचाइदिनुपर्‍यो । जोसुकै होस् । हामी गरीबलाई कस्ले न्याय देला खै ?’ पीडितकी आमा भन्छिन् ।

उपचारमा संलग्न चिकित्सकले उर्मिलाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका छन् । ‘उहाँको अवस्था खतरामुक्त छ । अब डराउनुपर्ने छैन । स्वास्थ्य सुधारोन्मुख छ,’ चिकित्सकले भने ।
पछिल्लो समय बलात्कारका घटनाहरू बढ्दै गएका छन् ।

राजनीतिक प्रभाव र प्रहरीको अनुसन्धान प्रणाली वैज्ञानिक नहुँदा यस्ता घटनामा कमी आएको छैन ।

कमजोर न्याय, कमजोर अनुसन्धान प्रणाली र राजनीतिक दबाबले गर्दा आपराधिक व्यक्तिको मनोबल बढिरहेको पीडित पक्षको आरोप छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।