‘नेपाल–खनाल’ समूहको भेलामा सहभागी सांसदलाई स्पष्टीकरण सोधिने

जागृति खबर संवाददाता

काठमाडौं, ७ चैत्र ।

नेकपा एमालेको ‘नेपाल–खनाल’ पक्षको गुटगत भेलामा सहभागी भएका सांसदहरूलाई पार्टीको संसदीय बोर्डले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको निर्देशन, संसदीय दलको विधान र कानुन विपरीत गुटको भेलामा सहभागी भएका सबै सांसदहरूलाई स्पष्टीकरण सोध्ने आज बसेको दलको बैठकले निर्णय गरेको हो।

बैठकमा सहभागी सांसद शेरबहादुर तामाङले चाँडै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको बताए। बुधबार र बिहीबार ‘नेपाल–खनाल’ पक्षले ललितपुरको सानेपामा दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।

दलको बैठक जारी रहेकै बेला भने ‘नेपाल–खनाल’ पक्षका सांसदहरू भने दलको बिहीबार बसेको बैठकमा सहभागी हुन नसक्नुको कारणसहितको पत्र लिएर बालुवाटार आइपुगेको पनि तामाङले बताए।

पत्र लिएर आउने दलका सदस्यहरू सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ हुन्। उनीहरूले पत्र दलका नेता ओलीलाई दिएका थिए।

पत्र बुझेपछि ओलीले कुनै पनि गुटगत भेला नस्वीकार्ने बताएका थिए। तर सच्चिने मौका दिने प्रधानमन्त्रीको भनाइ थियो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।