यसकारण वाध्य भइन् एक आमा आफ्ना ४ सन्तान सहित कर्णालीमा हामफालेर आत्महत्या

जागृति खबर संवाददाता

काठमाडौं ।

गत सोमबार सारा देश र विश्व पनि १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन व्यस्त थियो । ठूला शहरका तारे होटलदेखि स्थानीय निकायका सदरमुकाममा महिला हिंसाविरुद्ध अनेक भाषण भइरहेका थिए । नाराबाजी गर्दै प्लेकार्ड बोकेर जुलुस पनि गरिँदै थियो । महिला–पुरुष बराबर हुनुपर्छ, लगायतका नाराका साथ महिलामाथि हुने हिंसाका घटना आगामी दिनमा कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर बहस पनि गरिए ।

तर त्यही दिन दैलेखको आठबीस नगरपालिका–३, निमाइलकी ३५ वर्षीय सुकी बडुवालले भने चार सन्तान सहित कर्णाली नदीमा हामफालिन् । देशभर महिलाको पक्षमा नारा र भाषण भइरहँदा देशकै अर्को कुनामा एक महिलाले किन आत्महत्याको बाटो रोजिन् ?

प्रहरीले अनुसन्धान थाल्यो । प्रारम्भिक अनुसन्धानले घरेलु हिंसा र चरम गरिबी मुख्य कारण भएको खुलेको छ । उनका श्रीमानले मदिरा सेवन गरेर उनलाई र साना छोराछोरीलाई दिनहुँ कुटपिट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । आफु र आफ्ना सन्तान माथिको त्यो दमनले विक्षिप्त भएकी उनलाई बाँच्न भन्दा मर्न सजिलो लागेको थियो ।

घटना हुने दिन सुकीले मदिराले लठ्ठ भएका आफ्ना श्रीमानलाई गाउँकै स्थानीय बजारबाट घरमा ल्याएर सुताइन् । घरमा भएका गाइ गोरुलाई घाँस काट्ने बाहनामा उनी चार सन्तान सहित कर्णाली नदी किनारको बगरतिर लागिन् । श्रीमानको दिनहुँ किचलोबाट विक्षिप्त बनेकी उनले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोज्न विवश भइन् ।

कर्णालीमा गरिबीले मान्छेको ज्यान लिनु खासै नौलो समाचार हुन छोडिसकेको छ । आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराले पनि घरेलु हिंसा नै आत्महत्याको मुख्य कारण भएको बताउँछिन् । ‘घरेलु हिंसाका कारण यस्तो कहालीलाग्दो घटना भएको छ । सुकीले घर छोडेको दिन पनि उनका पतिले सबै जनामाथि कुटपिट गरेका रहेछन् । अहिलेको समयमा यस्तो घटना हुनु कदापी राम्रो होइन ।’ बोहोराले भनिन् ।

२१औँ शताब्दीमा आएर पनि घरेलु हिंसाका कारण महिलाहरुले ज्यान गुमाउनु भनेको निकै दुःखद मात्र नभएर लज्जास्पद पनि भएको उनी बताउँछिन् । यस्तो हुनुमा पीडक मात्र नभएर समाज पनि बराबरको दोषी भएको उनको ठम्याई छ ।

शवको अवस्था हेर्दा पाँचै जनाले सल्लाह गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । सोमबार साँझ आठ बजे स्थानीय छत्र सिजापतीले २ बालिकाको हात बाँधिएको अवस्थामा शव माछा मार्ने जालमा शव भेटिएको जानकारी गराएका थिए । यस्तै मंगलबार दिउँसो करिब १२ बजेतिर आमा सुकी र उनका छोराको पनि डोकोमा लगाएको दाम्लोले बाँधिएको अवस्थामा शव भेटिएको थियो ।

घटनाको प्रकृतिले नै चार सन्तान र आमाले सल्लाह गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अबेरसम्म सुकी घर नफर्किएपछि खोजतलास भएको स्थानीय सिजापतिले बताए । ‘श्रीमान पनि मदिरा सेवन गरिरहन्थे । आत्महत्याको मुख्य कारण मदिरा नै हो,’ उनले भने ।

सोमबार दुई बालिकाको शव माछा मार्ने जालमा भेटिएको थियो भने सुकी र उनका छोराको शव मंगलबार अछामको पञ्चदेवल नगरपालिकास्थित टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा भेटिएको थियो । सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया ललितको शव भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिएका छन् ।

उनका अनुसार ६ वर्षीया रजनीको अवस्था भने अझै अज्ञात छ । घटनालगत्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त लगायतको टोली पनि घटनास्थलको निरीक्षण गरेको थियो । बेपत्ता रजनीको खोजीका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

मानसिंह बडुवालले श्रीमती र छोराछोरी कुटेको यो पहिलो घटना अवश्यै थिएन । विगत एक वर्षदेखि उनले मदिरा सेवन गरेर दिनहुँजसो कुटपिट गर्ने गरेको बुझिएको छ । भारतमा मजदुरी गर्ने मानसिंह कोरोना महामारीपछि २०७६ चैतमा घर फर्किएका थिए । स्थानीयका अनुसार सुकीले नै गाउँमा मजदुरी गरी ६ जनाको परिवारको पालन पोषण गरिरहेकी थिइन् ।

सोही वडाका अध्यक्ष प्रयोग शाहीले पतिको यातना सहन नसकी सुकीले सन्तानसहित आत्महत्याको बाटो रोजेको दाबी गरे । उनका अनुसार मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्ने गरेको पाइएको छ ।

पोष्टमार्टमका लागि अछाम लगियो शव

मृत भेटिएका आमा र ३ छोराछोरीको शव पोष्टमार्टमका लागि अछामको मंगलसेन लगिएको छ । मंगलबार बेलुका शव मंगलसेन लगिएको प्रहरीले बताएको छ । उनीहरु दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसेनमा रहेको जिल्ला अस्पतालमा लगिएको बताइएको छ। मुद्दा भने अछाममै चल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले बताए ।

घटनाको अनुसन्धानका लागि मानसिंहलाई सोमबार नै पक्राउ गरिएको छ। रजनी बडुवालको शव नभेटिएकोले गोताखोर बोलाएर शवको खोजी गरिने पनि उनले बताए । घटनापछि गाउँ शोकमा डुबेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।