प्रधानमन्त्रीले सुजल बमको तस्बिर आफ्नै मोबाइलमा कैद गरेपछि

जागृति खबर संवाददाता

काठमाडौँ , २१ फागुन ।

सुजल बम बहिरा कलाकार । न उनी बोल्न सक्छिन् न सुन्न । तर, उनको हाउभाउ हेर्दा कसैलाई लाग्दैन की उनी फरक क्षमता भएकी हुन् । अ’द्भुत क्षमता भएकी सुजल बम अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नजरमा परेकी छन् । यतिमात्र होइन् सुजलको तस्बिर प्रधानमन्त्रीको मोबाइलमा कैद भएको छ ।

आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए । त्यहाँ विभिन्न क्षमता भएका फरक क्षमताका बालबालिकाको जमघट थियो । प्रधानमन्त्री उनीहरुको क्षमताको बयान गर्दै थिए, उनले यतिसम्म भन्न भ्याए ‘म पनि थोरैथोरै अपांगता भएको व्यक्ति हुँ ।’ प्रधानमन्त्रीको यो बोली र मन्तव्यले त्यहाँ उपस्थित भिडलाई थप उर्जा र ढाडस थपिएको महशुस गर्न सकिन्थ्यो ।

सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सुजल बम । यस्तो थुप्रो साथीहरु हुनु हुन्छ ।’ सुजल बमका लागि प्रधानमन्त्रीको मुखबाट यो नाम गुञ्जिनु निकै हर्षविह्वलको क्षण थियो । नहोस् पनि कसरी, डोटी साबिकको चवारा चौैतारा गाविस चनुकाँडा, हालको बोगटान गाउँपालिका वडा नम्बर ७ मा जन्मेकी सुजल बमले यो अवस्थाको कल्पना गरेकी थिइनन् ।

सुजल बमका बुवा टेक बमले आइतबारको दृष्यलाई जीवनको अविस्मरणीय क्षणका रुपमा लिएका छन् । बमले ओकेजनतालाई भने, ‘प्रधानमन्त्रीज्यूबाट सुजलको प्रतिभाको तारिफ भयो, हर्षविह्वल छौँ मेरो परिवार । फरक क्षमता भएकी छोरीको जीवन केही सहज होस् भन्ने हेतुले अभिभावकको कर्तव्य पालन मात्रै गरेको थिएँ, सुजलको मेहनत र लगनशीलताले सिंगो राष्ट्रको गरिमा बढेको छ ।