त्यो अवस्थामा मलाई सारै डर लाग्यो

जागृति खबर संवाददाता

जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ !

मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन ।

मम्मीलाई भन्छु भन्ने सोचले म कोठा बाहिर निस्किएँ । तर त्यहाँ मम्मी होइन, बाबा हुनुहुन्थ्यो । मलाई यस्तो कुरा बाबालाई भन्ने आँट आएन । म मम्मी खोज्दै यता र उता गरिरहेकी थिएँ । त्यतिबेलै मलाई मेरो कपडा भिजेको महसुस भयो अनि म रुन थालेँ ।

यत्तिकैमा सायद बाबाले अनुमान लगाउनु भएछ क्यार । बाबाले भन्नुभयो, “छोरी तिमी नआत्तिय, ममी एकछिनमा आउँछिन् । म एकछिन बजारतिर जान्छु ।” यति भनेर बाबा घरबाट निस्किनुभयो । घरमा म एक्लै थिएँ । हजुरआमा पनि हुनुहुन्थेन । मेरो योनाङ्गबाट रगत बग्न रोकिएकै थिएन । त्यत्तिकैमा बाबा बजारबाट आउनुभयो । उहाँले झोलाबाट केही झिकेर म बसेको ठाउँमा फ्यालिदिनुभयो । मलाई बाबाको यो व्यवहार देखेर अचम्म लाग्यो । बाबा किन टाढैबाट जानुभयो ? किन बाबा मेरो नजिक बस्नुभएन ? किन सामान परैबाट फ्यालिदिनुभयो ?

मलाई धेरै नराम्रो लाग्यो । सधैँ मेरो वरिपरि बस्ने, मसँगै चल्ने खेल्ने बाबाले आज किन मसँग यस्तो गर्नुभएको होला ? बाबाले फालिदिनु भएको सामान के हो ? यो कसरी र केमा प्रयोग गर्छन् ? त्यो पनि थाहा थिएन मलाई ।

त्यतिबेला मम्मी गोठतिरबाट आउनुभयो, सायद भैँसी बाँधेर । मैले मम्मीलाई देखेपछि उहाँको नजिक गएर रोएँ । अँगालो हालेर रोएँ र सबै कुरा भने । मम्मीले मेरो कुरा सुन्नुभयो र मलाई नआत्तिन भन्नुभयो । मैले उहाँलाई बाबाले ल्याइदिएको सामान देखाएँ र किन ल्याइदिएको भनेर प्रश्न गरेँ । मम्मीले मेरो यो प्रश्न सुनेर मलाई छेउमा लगेर यसको आवश्यकता, फाइदा र यसलाई कसरी प्रयोग गर्ने भनेर सिकाउनुभयो । त्यसपछि म बाथरुम गएर मम्मीले सिकाएको अनुसार प्याड लगाएँ । त्यो प्याड लगाएपछि बल्ल मलाई सजिलो भएजस्तो भयो ।

म बाथरुमबाट निस्किँदा देखेँ, मम्मीले मलाई निन्याउरो मुख लगाएर हेरिराख्नभुएको रैछ । मम्मीलाई मैले यस्तो निन्याउरिएको कहिल्यै देखेकी थिइनँ । मलाई मम्मीको मुख देखेर डर लाग्यो । मैले मनमनै सोचेँ – मैले केही गलत काम त गरेकी छैन ! तर मलाई त्यस्तो गरेकी छुजस्तो केही लागेन । मम्मीले मलाई आफूसँग बोलाउनुभयो र यो समयमा हुने अनेकौँ कठिनाइका बारे सम्झाउनुभयो ।

मम्मीले भन्नुभयो, “यो प्राकृतिक नियम हो छोरी । यो तिमीलाई मात्रै होइन, हरेक छोरी मान्छेलाई हुने कुरा हो । यो प्रकृतिको सुरुआतदेखि छोरीलाई भइआएको कुरा हो । यो जीवनको निश्चित उमेरसम्म भइरहन्छ । यो बेला योनाङ्गबाट रगत बग्छ, पाँच, छ दिनसम्म । यो बेला तिमीलाई तल्लो पेट दुख्ला र त्यसरी पेट दुख्यो भन्दैमा आत्तिने, डराउने होइन । त्यस्तो हुँदा मनलाई शान्त राखेर आराम गरेर बस ।”

यति भनेर मम्मीले मलाई कोठामा छाडेर जानुभयो । केहिबेरमा, पल्लो कोठामा बाबा र मम्मी बसेर गुनगुन गरिरहेको सुनेँ । केही समयपछि मम्मी मेरो दुई चार जोर लुगा झोलामा राखेर बाहिर निस्कनुभयो । अनि मैले मम्मीलाई सोधेँ, “मम्मी हजुर यो झोला बोकेर कहाँ जान लाग्नुभएको ? कसको झोला हो यो ? को कता जान लागेको छ र ?” मम्मीले भन्नुभयो, “नानी तेरो सामान हो यो । अब केही दिन घर बस्न मिल्दैन बाबा र दादालाई देख्न हुँदैन तैँले ।”

त्यसपछि, मम्मीले ठूलीफुपूसँग कुरा गर्नुभयो, “नानी मिन्स भइ अब के गर्ने कता राख्ने होला ?” फुपूले आफ्नो घरमा राख्ने कुरा गर्नुभयो । त्यसपछि मम्मी बाबा अलि ढुक्क देखिनुभयो । अनि म केही दिनका लागि फुपूको घरमा बस्ने भएँ, परिवारबाट अलग भएर ।

म फुपूको घरमा त गएँ तर मलाई असाध्यै नरमाइलो लागीरहेको थियो । मलाई कताकता डाँको छोडेर रुन मन लागेको थियो तर पनि रुन सकिरहेको थिइन । त्यहाँ मेरो फुपूको छोरा अर्थात दादा पनि हुनुहुन्थ्यो । उहाँबाट पनि म टाढा हुनपर्दो रहेछ । यताउता गर्दा राती भैसकेको थियो अनि सुत्ने बेला आयो । सबै जना आफ्नो कोठामा थियौँ । जब बिहान भयो बाहिरबाट आवाज आयो, “नानी बाहिर नआउनू । घाम हेर्न हुँदैन, बाहिर दादा छ उसलाई पनि हेर्नु हुँदैन ।” मलाई लाग्यो, मैले त यो के पाप गरेँ ? घाम पनि हेर्न नपाउने, बाबालाई दादालाई पनि देख्न नपाउने । म अचम्ममा परेँ । यो कस्तो खाले चलन हो ? कसले चलायो यस्तो चलन ? यो त मात्र एउटा प्राकृतिक नियम थियो, म शारीरिक रूपमा स्वस्थ छु, र म प्रजनन क्षमताको लागि योग्य हुँदैछु भन्ने संकेत थियो ।

महिनावारी सुरु भएदेखी हरेक महिना त्यहि क्रम दोहोरिने भएकाले, यसलाई मासिक धर्म भनेको धेरैपटक सुनेकी थिएँ । तर यहाँ त, धर्मको नाममा अनेकौँ अन्धविश्वास जोडेर मलाई सजाय दिइराखिएको थियो । त्यसपछिको प्रत्येक महिना म त्यो सजायको भागीदार भइरहेकी छु । करले त हो नै, त्योसँगै जोडिएको धर्मप्रतिको आस्थाको डरले ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।