अभिनेत्री सुष्मा कार्की र श्वेताकी बहिनी आरती खड्काबीच मिलापत्र

जागृति खबर संवाददाता

काठमाडाैं, २१ माघ ।

दरबारमार्गमा आफूमाथि दुव्र्यवहार भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले मंगलबार प्रहरीमा उजुरी दिएकी थिइन्।

अभिनेत्री कार्कीले दरबारमार्गको ‘लन्डन पब’मा नायिका श्वेताकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाईलीले आफूमाथि कुटपिट तथा गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

दरबारमार्ग प्रहरीले बुधबार दुबै पक्षलाई बोलाएर मिलापत्र गराएको छ। उनीहरुले आइन्दा यस्तो काम नगर्ने कागजी व्यहोरामा हस्ताक्षर गर्दै विवाद मिलाएका छन।

सुष्मालाई थप्पड हानेकी अभिनेत्री श्वेताकी बहिनी आरती र उत्सव रसाइलीले माफी मागेका छन्। कागजमा हस्ताक्षरपछि प्रहरीकै अगाडि तीनैजनालाई अँगालो हाल्न लगाइएको थियो। तीनैजनाले आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मान्छेबाट गल्ती हुन्छ भन्दै अभिनेत्री सुष्माले उनीहरुलाई आफ्नै भाई बहिनी सम्झेर माफी दिएको मिडियाकर्मी समक्ष बताइन्।