भारतसंग सम्बन्ध सुध्रियो, अब लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि फिर्ता : प्रम ओली

जागृति खबर संवाददाता

काठमाडौँ , २७ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।

आफूले भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी आपसी विवाद समाधान गर्न उल्लेख्य पहल गरेको उहाँले स्पष्ट पार्नुभयो । “सन् १९२८ देखि शारदा नहरमा भारतमा पानी गइरहेको हाम्रो भूमि बाँझै छ, तर बोल्न नसक्ने अनि आफूले त्यस विषयमा बोल्दा तपाईँका पालामा मात्र भारतसँगको सम्बन्धमा धेरै बहस किन हुन्छ भन्ने ?” उहाँले प्रश्न गर्नुभयो ।

कतिपयले नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा बनाउँदा सम्बन्ध बिग्रिन्छ भनेको तर सरकारले नेपालको नयाँ नक्शामा उक्त भूमि समेटेर संविधानको अङ्गसमेत बनाएको बताउँदै उहाँले भन्नुभयो, “अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ ।

नेपाली भूमि फिर्ता भएरै छाड्छ ।” संसद्को सातौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि संविधान जारी गरेवापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवाहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण गराउनुभयो । यसअघि पनि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेपछि त्यसबाट आत्तिएर सरकार ढलाउने काम भएको उहाँको भनाइ थियो ।