गृहमन्त्री बादल चितवनमा प्रचण्ड हराउने एसपी खोज्दै !

जागृति खबर संवाददाता

काठमाडौं, २४ पुस ।

प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको ३० एसपीको सरुवामा ८ ठूला जिल्लाका इन्चार्ज हेरफेर भयो । पर्सा, बारा, धनुषा, झापा, सिन्धुली, काभ्रे, मकवानपुर र कञ्चनपुरका एसपी सरुवा भए । ती जिल्लाका एसपीको कार्यकाल करिब एक वर्ष हुन लागेकाले सरुवा हुन लागेको छ ।

उनीहरुसँगै चितवन गएका नान्तीराज गुरुङलाई भने हटाइएको छैन । स्रोतका अनुसार कसलाई चितवन पठाउने भन्ने कुरा नमिल्दा उनको सरुवा नभएको हो । चितवन गृहमन्त्री रामबहादुर थापा बादलको गृहजिल्ला हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पनि जिल्ला हो चितवन । सोही महत्वपूर्ण जिल्लामा भने एसपीको सरुवा भएन । स्रोतका अनुसार कसलाई पठाउने भन्ने विवादमा हाल हेरफेर नगरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादल आफ्ना ‘यसम्यान’ एसपीलाई चितवन पठाउने तयारीमा छन् । चुनाव भएमा प्रचण्डलाई हराउन भूमिका खेल्ने एसपीको खोजी भइरहेको स्रोत बताउँछ ।

यसअघिको चुनावमा प्रचण्डका विश्वासपात्र दीपक थापा चितवनमा थिए । थापाकै सहयोगमा भरतपुरमा रेनु दाहालले चुनाव जितेकी थिइन् । त्यसकारण यसपटक उनलाई हराउन भूमिका खेल्ने एसपी पठाउन लागिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्लामा एसपी सानुराम भट्टराईलाई पठाएका हुन् । ओली प्रधानमन्त्री भएलगत्तै भट्टराई उनको पिएसओ बनेका थिए । त्यस्तै पर्सामा वेलबहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, बारामा दीपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, मकवानपुरमा आभूषण तिमल्सिना, काभ्रेमा भूपेन्द्र खत्री, कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।