कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

जागृति खबर संवाददाता

वीरगन्ज , ५ असोज ।

वीरगन्जमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको छ । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना गरिएको निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

नारायणीमै उपचाररत वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको छ । उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै अस्थायी कोभिड अस्पताल वीरगन्जमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको हो । असोज १ गते अस्पतालमा भर्ना गरिएका उनमा मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई श्वासप्रश्वासको समस्या रहेको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए ।

सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरेका थिए ।